‘लाइफ कम्प्युटर वेबसाइट कम्पिटिसन सिजन ७’ मा आइडियल मोडल स्कुलका प्रसुन भट्ट विजेता

काठमाडौं । आइडियल मोडल स्कुल, जाउलाखेलका विद्यार्थी प्रसुन भट्टले राष्ट्रियस्तरको ‘लाइफ कम्प्युटर वेबसाइट कम्पिटिसन सिजन ७’ को उपाधि जित्न सफल हुनुभएको छ । देशभरका विभिन्न स्कुलका विद्यार्थीहरूले निर्माण गरेका ९८१ वटा वेबसाइटमध्ये उत्कृष्ट २० छनोट गरिएपछि, त्यसैबाट उत्कृष्ट १० र अन्ततः उत्कृष्ट ३ जनामध्ये प्रसुन भट्टले उत्कृष्ट प्रस्तुति, सफा कोडिङ, युजर फ्रेन्ड्ली डिजाइन र प्राविधिक दक्षताको आधारमा निर्णायकहरूको उच्च मूल्याङ्कन पाउँदै पहिलो स्थान हासिल गर्नुभएको हो ।

दोस्रो स्थानमा आदर्श सौल युवक माध्यमिक विद्यालय, ललितपुरका सुशील खड्का र तेस्रो स्थानमा श्री सुन्दरी माध्यमिक विद्यालय, धादिङका आदेश भण्डारी रहे। विजेताले ल्यापटप पुरस्कार पाउँदा, दोस्रो स्थान विजेताले नगद ५० हजार र तेस्रो स्थान विजेताले नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
फाइनल चरणको निर्णायक प्रक्रिया र पुरस्कार वितरण कार्यक्रम काठमाडौंको राष्ट्रिय नाचघर, जमलमा एक भव्य समारोहका बीच सम्पन्न भएको थियो।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी भएका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा सिर्जनशीलता र प्रविधि प्रतिको लगाव बढाउने बताउनु भयो । उहाँले प्रविधिलाई करियरको रुपमा हेर्ने सोच विस्तार गर्न यस्ता प्लेटफर्महरू महत्वपूर्ण हुने बताउनुभयो । त्यसैगरी, त्रिभुवन विश्वविद्यालय सूचना तथा प्राविधिक केन्द्रका निर्देशक प्राडासुवर्ण शाक्यले प्रतियोगिताले विद्यार्थीहरूमा हौसला बढाएको उल्लेख गर्नुभयो। कम्प्युटर एसोसिएसन नेपालका महासचिव चिरञ्जीवी अधिकारीले सानो उमेरमै वेबसाइट निर्माणजस्तो प्रविधिक विधामा विद्यार्थीहरूको उत्साह देख्दा आफू प्रभावित भएको प्रतिक्रिया दिएका दिनुभयो । युनिभर्सल पिस फाउन्डेसन साउथ एसियाका क्षेत्रीय निर्देशक प्रकाश बाबु थापाले प्रतियोगितामा देखिएको प्रतिभालाई उल्लेखनीय भन्दै विद्यार्थीहरूको सिर्जनात्मक उचाइको प्रशंसा गर्नुभयो ।

कार्यक्रमको परिकल्पना लाइफ कम्प्युटरका सीईओ रमेश पोखरेलको नेतृत्वमा गरिएको हो। उहाँले यस्तो प्रकारको प्रतियोगिता मार्फत विद्यार्थीहरूमा डिजिटल सीपको विकास गर्नु प्रतियोगिताको मुख्य उद्देश्य भएको बताउनुभयो । कार्यक्रममा संयोजकको भूमिका निर्वाह गरेकी लाइफ कम्प्युटरकी प्रबन्ध निर्देशक लक्ष्मी खत्रीले देशका विभिन्न जिल्लाबाट विद्यार्थीहरूको सहभागिता र उनीहरूले देखाएको लगनशीलता देख्दा कार्यक्रम सार्थक भएको बताउनुभयो।

कार्यक्रममा ‘बेस्ट टिम मेम्बर अफ द इयर’ बाट उत्कृष्ट टिम सदस्य कृष्ण ढुंगेललाई सम्मानित गरिएको थियो । विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए। स्कुल–कलेजका प्रतिनिधिहरू, शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न प्राविधिक संघ(संस्थाका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा सहभागी सबैलाई मायाको चिनो प्रदान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *