पतञ्जलि जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालको बयान सकियो, थुनछेक बहसमा डेढ दर्जन वरिष्ठ अधिवक्ता
काठमाडौं, ११ असार । पतञ्जलि जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको बयान सकिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा बुधबार विशेष अदालतमा उहाँको बयान लिइएको हो ।
बयान सकिएलगत्तै थुनछेक बहस सुरु भएको छ, जहाँ नेपालको प्रतिरक्षामा वरिष्ठ अधिवक्ताहरूको ठूलो टोली उत्रिएको छ । नेपाललाई थुनामा राख्ने वा नराख्ने भन्ने विषयमा हुने बहसमा उहाँको पक्षबाट डेढ दर्जनभन्दा बढी वरिष्ठ अधिवक्ताले बहस गर्ने भएका छन् ।
नेपाल पक्षका अधिवक्ता नारायण देवकोटाका अनुसार, नेपालको पक्षमा बहस गर्न करिब १५० जना अधिवक्ताले वकालतनामा दर्ता गराएका छन् । वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, गोविन्द बन्दी र टीकाराम भट्टराई लगायतले सुरुवाती बहस गरिरहेका छन् ।