झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम
ग्याँसको कृतिम अभाव
काठमाडौँ, असोज २८ । चाडबाडका समयमा पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्याँसको कृतिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले चाडबाडमा उपभोग्य वस्तुको माग बढ्न सक्ने भएकाले आपूर्ति व्यवस्थालाई सहज र व्यवस्थित बनाउन सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । उहाँले जिल्लामा ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति अवस्थाबारे समीक्षा गर्दै उपभोक्तालाई सहज रूपमा इन्धन उपलब्ध गराउन आवश्यक समन्वय गर्नुपर्ने बताउनुभयो ।
नेपाल आयल निगम चारआलीका प्रमुख उमेशकुमार पोखरेलले जिल्लामा पेट्रोलियम पदार्थको अभाव नरहेको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा इन्धनको आपूर्ति अवस्था सामान्य छ ।
पराजुली ग्यास उद्योगका सञ्चालक जितबहादुर कार्कीका अनुसार झापामा दैनिक पाँच हजार ५०० सिलिन्डर ग्यासको माग रहेकामा सात हजार ६०० सिलिन्डर उत्पादन भइरहेको छ । पछिल्लो दुई महिनामा नियमित खपतको तुलनामा करिब ४० प्रतिशत बढी ग्यास बजारमा खपत भएको उहाँले बताउनुभयो ।
चाडबाडका समयमा इन्धनको नियमित आपूर्ति सुनिश्चित गर्ने विषयमा मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा छलफलसमेत गरिएको थियो । छलफलमा सुरक्षा निकाय, नेपाल आयल निगम, पेट्रोलियम डिलर्स एसोसिएसन तथा ग्यास विक्रेता सङ्घका प्रतिनिधि सहभागी थिए ।
बैठकमा बढ्दो मागलाई ध्यानमा राख्दै आपूर्ति तथा वितरण प्रणालीलाई प्रभावकारी बनाउने र बजारमा कृत्रिम अभाव हुन नदिने विषयमा छलफल भएको थियो ।
