साउदी नेतृत्वको गठबन्धनद्वारा सानाका तेल भण्डारमा हवाई हमला: हुथीद्वारा ‘कडा’ जवाफ दिने चेतावनी
यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकार ले हुथी विद्रोहीहरूका लागि जासुसी गर्ने, आर्थिक सहयोग उपलब्ध गराउने वा समर्थन गर्ने व्यक्तिहरूविरुद्ध कडा कानुनी कारबाही गर्न सुरक्षा तथा न्यायिक निकायहरूलाई निर्देशन दिएको छ।
काठमाडौँ । यमनको राजधानी सानामा मङ्गलबार शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन्। साउदी नेतृत्वको सैन्य गठबन्धनले सानास्थित ‘यमन पेट्रोलियम कम्पनी’ नजिकै रहेका तेल भण्डारहरूलाई लक्षित गरी हवाई आक्रमण गरेपछि स्थिति तनावग्रस्त बनेको छ।
गठबन्धनका प्रवक्ता टर्की अल-मालिकीले सर्वसाधारणको सुरक्षाका लागि सो क्षेत्र खाली गर्न चेतावनी दिएलगत्तै आक्रमण भएको थियो। हुथी सम्बद्ध ‘अल-मसिराह टीभी’का अनुसार सानाको पश्चिममा रहेको अल-सबाहा क्षेत्रका तेल पूर्वाधारहरूमा हवाई हमला भएको छ।
यसैबीच, हुथी विद्रोहीहरूका सैन्य प्रवक्ता याह्या सारीले साउदी समर्थित बलहरूसँग मुठभेड भइरहेको पुष्टि गर्दै यदि सानामाथि आक्रमण निरन्तर रहेमा साउदी अरबका सहरहरू रियाध र दम्माममा “कडा र पीडादायी” जवाफ फर्काइने चेतावनी दिएका छन्।
ताइजमा हुथीको गोलाबारी, ५ जना नागरिकको मृत्यु
यमनको सरकारी सञ्चारमाध्यम ‘यमन टीभी’का अनुसार ताइज प्रान्तका विभिन्न स्थानमा हुथी विद्रोहीहरूले गरेको गोलाबारीमा परी ५ वर्षका एक बालकसहित कम्तीमा ५ जना सर्वसाधारणको मृत्यु भएको छ। ताइज मानवअधिकार कार्यालयले सो घटनाको पुष्टि गरेको छ।
हुथीका सुराकी र सहयोगीलाई मृत्युदण्डसम्मको सजाय दिने चेतावनी
यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकार ले हुथी विद्रोहीहरूका लागि जासुसी गर्ने, आर्थिक सहयोग उपलब्ध गराउने वा समर्थन गर्ने व्यक्तिहरूविरुद्ध कडा कानुनी कारबाही गर्न सुरक्षा तथा न्यायिक निकायहरूलाई निर्देशन दिएको छ।
सरकारी विज्ञप्तिअनुसार यस्ता देशद्रोही र अवाञ्छित गतिविधिमा संलग्न हुनेहरूलाई कानुनबमोजिम मृत्युदण्डसम्मको सजाय हुन सक्ने चेतावनी दिइएको छ। राष्ट्रिय सुरक्षा, सैन्य गोपनीयता र राज्यका निकायहरूको संरक्षणका लागि यस्तो कदम चालिएको सरकारको भनाइ छ।
सादा प्रान्तमा पनि हवाई हमला
हुथी सम्बद्ध मिडियाका अनुसार साउदी समर्थित यमनी सरकारी फौजले सादा प्रान्तको सीमावर्ती राजिह जिल्लामा पर्ने बानी मुइन र बाकिल क्षेत्रमा समेत कम्तीमा दुईवटा हवाई हमला गरेका छन्।
अमेरिकाद्वारा साउदी र यमन भ्रमणबारे चेतावनी जारी
मध्यपूर्वमा बढ्दो सैन्य तनावका बीच साउदी अरबस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई साउदी अरबको भ्रमण पुनर्विचार गर्न आग्रह गरेको छ। इरान र इरान समर्थित हुथीहरूले अमेरिकी हितहरूलाई लक्षित गरी ड्रोन तथा क्षेप्यास्त्र प्रहार गर्न सक्ने जोखिम रहेको भन्दै सतर्क गराइएको हो।
साथै, दूतावासले आतङ्कवादी जोखिमका कारण आफ्ना नागरिकहरूलाई यमन भ्रमण नगर्नसमेत कडा चेतावनी दिएको छ।
