प्रधानमन्त्री ओली शनिबार स्पेन भ्रमणमा जाँदै, विकास सम्मेलनमा सहभागी हुने
काठमाडौँ, १२ असार । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ।
स्पेनका लागि नेपाली राजदूत शनिल नेपालका अनुसार, प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’लाई सम्बोधन गर्नुहुनेछ। भ्रमणको तयारी पूरा भइसकेको र स्पेनस्थित नेपाली समुदाय प्रधानमन्त्रीको स्वागतका लागि उत्साहित रहेको राजदूत नेपालले बताउनुभयो।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना स्पेनी समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। सो अवसरमा नेपाल र स्पेनबीच सहयोग तथा सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण सहमतिपत्रमा हस्ताक्षर हुने दूतावासले जनाएको छ।
यसका साथै, प्रधानमन्त्री ओलीले स्पेनमा रहेका नेपाली समुदाय र स्पेनका उद्योगी–व्यवसायीहरूसँग पनि अन्तर्क्रिया गर्नुहुनेछ।