आश्विन कृष्ण औँसीसँगै पितृ पक्ष समापन : गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

पितृ पक्ष समापन

काठमाडौँ,  असोज २४ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज औँसी तिथिमा श्राद्ध गरेसँगै समापन भएको छ । पितृको स्मरण र तृप्तिका लागि श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने परम्पराअनुसार राजधानीको गोकर्णेश्वर उत्तरगया धाममा आज श्राद्ध गर्ने श्रद्धालुको घुइँचो लागेको छ ।

पितृ पक्ष समापनसँगै आइतबारदेखि दुर्गा पक्ष अर्थात् बडादशैँ सुरु हुँदैछ । वैदिक सनातन हिन्दू परम्परामा ठूला चाडपर्व तथा धार्मिक अनुष्ठान गर्नुअघि दिवङ्गत पितृप्रति श्रद्धा व्यक्त गर्दै श्राद्ध गर्ने चलन छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ तिथिमा दिवङ्गत पितृलाई तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यस अवधिलाई सोह्रश्राद्ध भनिएको हो । यसलाई अपर पक्ष तथा प्रेत पक्षका नामले समेत चिनिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिनुभयो । आश्विन शुक्ल प्रतिपदाका दिन मातामह अर्थात् आमाका बुबाको श्राद्ध गरेपछि सोह्रश्राद्धको विधि पूरा हुने धार्मिक मान्यता रहेको उहाँले बताउनुभयो । यद्यपि, पछिल्लो समय नेपाली समुदायमा मातामहको श्राद्ध गर्ने प्रचलन न्यून रहेको छ ।

धर्मशास्त्रीय मान्यताअनुसार पितृ पक्षमा दिवङ्गत पितृको सम्झना र सम्मानमा श्राद्ध गरिन्छ । यस अवधिमा श्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुने र पितृऋणबाट मुक्त भइने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताउनुभयो । उहाँका अनुसार शास्त्रीय विधानले सोह्रश्राद्ध अपराह्नकालमा गर्नुपर्ने उल्लेख गरेको छ । जाताशौच, मृताशौच तथा पत्नी रजस्वला भएका अवस्थाबाहेक सोह्रश्राद्ध गर्न नछुटाउनुपर्ने उहाँको भनाइ छ ।

धर्मशास्त्रमा परिस्थितिवश निर्धारित तिथिमा श्राद्ध गर्न नसकिए वैकल्पिक व्यवस्था पनि उल्लेख गरिएको छ । धर्मशास्त्रविद् गौतमका अनुसार आपत्कालीन अवस्थामा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म श्राद्ध गर्न सकिने व्यवस्था छ । त्यस अवधिमा पनि सम्भव नभए कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन वा अन्य निर्धारित योग तथा नक्षत्र परेको दिन श्राद्ध गर्न सकिने शास्त्रीय विकल्प छन् ।

निर्णयसिन्धु र धर्मसिन्धुलगायत धर्मशास्त्रीय ग्रन्थमा भरणी नक्षत्र, व्यतीपात योग तथा आश्विन शुक्ल पक्षका निश्चित तिथिमा रोकिएको श्राद्ध गर्न सकिने व्यवस्था उल्लेख गरिएको नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका प्रा. डा. भट्टराईले बताउनुभयो । उपलब्ध विकल्पमा पनि श्राद्ध गर्न नसकिए विधिपूर्वक मन्त्रजप गर्न सकिने धार्मिक व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

यसैबीच, पितृ पक्षका अवसरमा राजधानीको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर उत्तरगया धाममा औँसी तिथिको श्राद्ध गर्न श्रद्धालुको भीड लागेको थियो । राजधानीमा डेरा गरी बस्नेहरू पनि पितृको श्राद्ध गर्न गोकर्णेश्वर आउने गरेको गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष एवं मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जयराम महतले जानकारी दिनुभयो ।

श्राद्धका लागि गोकर्णेश्वर पुग्ने श्रद्धालुले भने समितिले रसिद काटेर शुल्क उठाउने गरे पनि सरसफाइ तथा अन्य सुविधामा पर्याप्त ध्यान नदिइएको गुनासो गरेका छन् । धार्मिक महत्त्व बोकेको यस क्षेत्रमा श्रद्धालुको चाप बढ्ने समयमा सरसफाइ र आधारभूत सुविधाको उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता उनीहरूको गुनासोले औँल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *