सुर्खेतका दुई गाउँपालिकाका जङ्गलमा १८ थान भरुवा बन्दुक फेला

कर्णाली, २४ असोज। सुर्खेत पश्चिमका चौकुने र बराहताल गाउँपालिकाका विभिन्न जङ्गलमा लुकाइछिपाइ राखिएका १८ थान भरुवा बन्दुक प्रहरीले फेला पारेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार विशेष सूचनाका आधारमा असोज २३ गते खटिएको प्रहरी टोलीले ती बन्दुक फेला पारेको हो।

पञ्चपुरी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक भूपेन्द्र शाहीको नेतृत्वमा खटिएको टोलीले चौकुने गाउँपालिका–७ स्थित सान्नेघारीको जङ्गलबाट पाँच थान भरुवा बन्दुक बरामद गरेको थियो।

त्यस्तै, अस्थायी प्रहरी चौकी लगामबाट खटिएको टोलीले चौकुने गाउँपालिका–१ को धामिसेनस्थित जङ्गलबाट १२ थान र प्रहरी चौकी रानीघाटबाट खटिएको टोलीले बराहताल गाउँपालिका–१ को ज्यामिरेस्थित जङ्गलबाट एक थान भरुवा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ।

फेला परेका सबै १८ थान भरुवा बन्दुक रीतपूर्वक बरामद गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहोराले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *