लोकतन्त्रप्रति विकर्षण बढाउने प्रयास भइरहेको छ : सभामुख घिमिरे

काठमाडौँ, १६ असार । सभामुख देवराज घिमिरेले लोकतन्त्रप्रति जनतामा सकारात्मक सन्देश प्रवाह गर्न र व्यवस्थामाथिको विश्वास कायम राख्न पूर्वसांसदहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।

पूर्वसांसद मञ्चले ६७औँ संसद् दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सभामुख घिमिरेले वर्तमान समयमा संसदीय लोकतान्त्रिक व्यवस्थामाथि विभिन्न कोणबाट चुनौती थप्ने र जनतामा निराशा फैलाउने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रप्रति जनतामा विकर्षण बढाउन खोजिएको छ, यसविरुद्ध सबै लोकतन्त्रवादी र विशेषगरी अनुभवी पूर्वसांसदहरू सचेत र सक्रिय हुनुपर्छ ।”

संसद्को कार्यप्रगतिबारे जानकारी दिँदै उहाँले लामो समयदेखि रोकिएका महत्त्वपूर्ण विधेयकहरू अघि बढेको बताउनुभयो । “दश वर्षदेखि रोकिएको सङ्घीय निजामती विधेयक र सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई यही अधिवेशनबाट टुङ्गो लगाउने गरी काम भइरहेको छ,” उहाँले विश्वास व्यक्त गर्नुभयो ।

संसद्को कार्यशैलीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै सभामुख घिमिरेले स्थापित अभ्यासहरूको समेत समीक्षा आवश्यक रहेको औंल्याउनुभयो । उहाँले बजेटका सिद्धान्त र प्राथमिकतामाथिको अग्रिम छलफल प्रभावकारी हुन नसकेको र वर्षेनी आर्थिक विधेयक पारित गर्ने लामो प्रक्रियामाथि पनि बहस हुनुपर्ने बताउनुभयो । संसदीय प्रक्रियालाई सुधार्न र गहन छलफल गर्न विज्ञहरूको ‘थिङ्क ट्याङ्क’ आवश्यक रहेको धारणा उहाँले राख्नुभयो ।