दशौँ राष्ट्रिय खेलकुदका लागि कर्णालीका २१ तेक्वान्दो खेलाडी छनोट

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता

काठमाडौँ, असोज २९ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशबाट २१ जना तेक्वान्दो खेलाडी छनोट भएका छन् ।

जुम्लामा तीन दिनसम्म सञ्चालन भएको प्रदेशस्तरीय छनोट प्रतियोगितामा आठ जिल्लाका ९३ खेलाडी सहभागी भएकामा विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरी २१ जना राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएको खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार छनोट प्रतियोगितामा हुम्ला र डोल्पाबाहेक कर्णाली प्रदेशका जुम्ला, कालीकोट, मुगु, दैलेख, सुर्खेत, जाजरकोट, सल्यान र रुकुम पश्चिमका खेलाडी सहभागी भएका थिए । विभिन्न तौल समूहमा भएको प्रतिस्पर्धामा प्रथम स्थान हासिल गर्ने खेलाडीले राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाएका हुन् ।

छनोट भएका पुरुष खेलाडीमा रुकुम पश्चिमका लालबहादुर परियार, कमल खड्का, खड्क विक र रमेश गुरुङ, कालीकोटका विराज बम, सुर्खेतका जीवन सार्की, सल्यानका योगेन्द्र शाह र लीलाधर नेपाली तथा जुम्लाका नरेन्द्र रावत रहेका छन् ।

त्यसैगरी, महिलातर्फ जुम्लाका निशा बुढा, सरला खत्री र ज्ञानिता कुलाल तथा सुर्खेतका दिप्ती नेपाली, देवीसरा सुनार र विविका बस्नेत छनोट भएका छन् । पूजा गाहा, मोनिमा दर्लामी र पूजा खत्रीलगायत खेलाडी पनि राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएको खेलकुद विकास समिति जुम्लाले जनाएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको समितिले जनाएको छ । छनोट भएका खेलाडीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *