अपाङ्गता भएका व्यक्ति र परिवारलाई सँगै समेटेर पहुँचयुक्त र समावेशी सहर बनाउँदै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल

पहुँचयुक्त र समावेशी सहर

काठमाडौँ, असोज २९ । अपाङ्गता भएका व्यक्तिको जीवन सहज बनाउन उनीहरूलाई मात्र सीप सिकाएर पुग्दैन, परिवारका सदस्य र हेरचाहकर्तालाई पनि सँगसँगै सक्षम बनाउनुपर्छ भन्ने मान्यतासहित काठमाडौँ महानगरपालिकाले स्याहारसम्बन्धी तालिम सञ्चालन गरेको छ । अपाङ्गता भएका व्यक्तिको आवश्यकता बुझ्ने, उनीहरूलाई दैनिक जीवनमा सहयोग गर्ने र परिवारलाई स्याहारका व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले महानगरपालिकाले यस्तो कार्यक्रम अघि बढाएको हो ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले अपाङ्गता भएका व्यक्तिका लागि सञ्चालन गरिने कार्यक्रमलाई प्रभावकारी बनाउन उनीहरूका अभिभावक र हेरचाहकर्तालाई पनि सँगै समेट्नुपर्ने बताउनुभएको छ । उहाँले अपाङ्गता भएका व्यक्तिको जीवन सहज बनाउने र सबैका लागि पहुँचयुक्त सहर निर्माण गर्ने लक्ष्यसहित महानगरपालिकाले व्यक्ति र परिवारलाई एकैसाथ सहभागी गराएर कार्यक्रम सञ्चालन गरिरहेको स्पष्ट पार्नुभयो ।

“स्वर तथा बोलाइमा समस्या भएका बालबालिका विद्यालय जान थालेपछि सांकेतिक भाषा सिक्छन् । तर घर फर्किएपछि उनीहरूको भाषा अभिभावक र परिवारका सदस्यले नबुझ्ने तथा बालबालिकाले पनि परिवारको भाषा नबुझ्ने अवस्था आउन सक्छ,” कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, “त्यसैले अपाङ्गता भएका व्यक्तिका लागि कार्यक्रम सञ्चालन गर्दा परिवार र अभिभावकलाई पनि सँगै सहभागी गराउनुपर्छ । यसो भएमा मात्रै कार्यक्रमको उद्देश्य पूरा हुन्छ ।”

उहाँका अनुसार शारीरिक तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिले दैनिक जीवनमा भोग्नुपरेका कठिनाइ कम गर्न स्याहारसम्बन्धी सीप, आवश्यक सहयोग र परिवारको बुझाइ महत्त्वपूर्ण हुन्छ । तालिमबाट सिकेका सीप तत्कालै प्रयोग हुन सक्ने, कतिपय अवस्थामा केही समयपछि उपयोगी हुने र केहीको परिणाम देखिन समय लाग्ने भए पनि यसले अपाङ्गता भएका व्यक्तिको जीवन सहज बनाउने दिशामा योगदान पुर्‍याउने उहाँको भनाइ छ ।

महानगरपालिकाको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाका अनुसार तालिममा शारीरिक तथा बौद्धिक अपाङ्गताका प्रकार, अपाङ्गता भएका व्यक्तिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अधिकार, व्यक्तिगत सरसफाइ, पोषण, स्वास्थ्य स्याहार र दैनिक क्रियाकलापमा सहयोग गर्ने तरिकाबारे जानकारी दिइँदैछ । यसका साथै आधारभूत फिजियोथेरापी, शारीरिक अभ्यास, बोली तथा सञ्चार सुधार, कठिनाइ व्यवस्थापन र अभिभावकको मानसिक स्वास्थ्य एवं तनाव व्यवस्थापनका विषय पनि तालिममा समेटिएका छन् ।

तालिममा शारीरिक अपाङ्गता भएका व्यक्तिको उपचार, पुनःस्थापना र सहायक सामग्रीसम्बन्धी विषयमा स्पाइनल इन्ज्युरी पुनःस्थापना केन्द्रका मेडिकल डाइरेक्टर डा. राजु ढकालले सहजीकरण गर्नुभएको छ । त्यस्तै, शारीरिक अपाङ्गता हुनुका कारण तथा त्यसले व्यक्ति र समाजमा पार्ने प्रभावका विषयमा शिक्षण अस्पताल महाराजगञ्जका अर्थोपेडिक सर्जन डा. शिरिष अधिकारीले प्रशिक्षण दिनुभएको छ । तालिममा शारीरिक अपाङ्गतासँगै बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोम र अटिजमलगायत विषयमा समेत जानकारी दिइँदैछ ।

तालिमका फोकल पर्सन भवानी कपालीका अनुसार महानगरपालिकाभित्र शारीरिक तथा बौद्धिक अपाङ्गता भएका करिब एक हजार ४०० व्यक्ति छन् । उनीहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको तालिमको एउटा कक्षामा २५ जना अपाङ्गता भएका व्यक्ति र २५ जना अभिभावक गरी ५० जनालाई सहभागी गराइएको छ ।

तालिममा सहभागी अभिभावकले पनि यसबाट दैनिक स्याहार तथा समस्या व्यवस्थापनमा सहजता थपिएको अनुभव सुनाएका छन् । अभिभावक भावना ढकालले काठमाडौँबाहिर यस्ता सेवा पर्याप्त नभएकाले काठमाडौँ आएर बस्नुपर्ने बाध्यता रहेको बताउँदै महानगरपालिकाको तालिमले समस्या व्यवस्थापन गर्न थप सहयोग पुगेको उल्लेख गर्नुभयो ।

त्यस्तै, आफ्नी बुहारीको दुईपटक ट्युमरको शल्यक्रिया भएको अनुभव सुनाउँदै अभिभावक भवानी भट्टराईले अप्ठ्यारो अवस्थामा रहेका व्यक्तिको जीवन सहज बनाउने विषयमा महानगरपालिकाले चासो देखाउनु सकारात्मक भएको बताउनुभयो । उहाँले विशेष सहयोग आवश्यक पर्ने व्यक्तिका लागि यस्ता कार्यक्रम अझ महत्त्वपूर्ण हुने धारणा राख्नुभयो ।

तालिममा प्रस्तुतीकरण, प्रदर्शन, प्रयोगात्मक अभ्यास, सामूहिक छलफल तथा अनुभव आदानप्रदानका माध्यमबाट सहभागीको क्षमता विकास गरिँदैछ । यसले अपाङ्गता भएका व्यक्तिको स्याहारलाई परिवारको दैनिक व्यवहारसँग जोड्नुका साथै उनीहरूको आवश्यकता र अधिकारप्रति परिवार तथा समुदायको बुझाइ बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिका लागि सेवा उपलब्ध गराउनु मात्रै पर्याप्त नहुने र उनीहरूलाई परिवार तथा समुदायमा सम्मानपूर्वक जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्नु पनि आवश्यक हुने मान्यतामा महानगरपालिकाको यो पहल केन्द्रित छ । कार्यवाहक प्रमुख डंगोलको नेतृत्वमा अघि बढाइएको यस्तो कार्यक्रमले अपाङ्गता भएका व्यक्तिलाई सहयोगको पात्रका रूपमा मात्रै नभई अधिकार, सम्मान र सहभागितासहितको नागरिकका रूपमा स्वीकार गर्ने समावेशी सहर निर्माणको अवधारणालाई बल पुर्‍याउने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *