तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार : क्षतिपूर्तिमा सात लाखभन्दा बढी वितरण

वन्यजन्तुको उद्धार तथा व्यवस्थापन

काठमाडौँ, असोज २९ ।  डिभिजन वन कार्यालय तनहुँले गत आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानबाट ४६ वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गरेको छ । कार्यालयले वन्यजन्तुको आक्रमणबाट मानिस, पशुधन र कृषिबालीमा भएको क्षतिबापत प्रभावितलाई रु सात लाख ३९ हजार ३७० राहतसमेत वितरण गरेको छ ।

डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटका अनुसार उद्धार गरिएका वन्यजन्तुमा चितुवा, चरीबाघ, मृग, अजिङ्गर, सर्प, गिद्ध, बाँदर र स्याललगायत छन् । अधिकांश वन्यजन्तु जीवित अवस्थामा उद्धार गरिएका थिए भने केही मृत तथा घाइते अवस्थामा फेला परेका थिए । जीवित उद्धार गरिएका वन्यजन्तुलाई सुरक्षित रूपमा प्राकृतिक वासस्थानमा छाड्ने र मृत फेला परेकालाई सुरक्षित रूपमा गाड्ने गरिएको उहाँले बताउनुभयो ।

कार्यालयका अनुसार सो अवधिमा दुई चितुवा मृत अवस्थामा फेला परेका थिए भने एउटा चितुवाको जीवितै उद्धार गरिएको थियो । अर्को एउटा चितुवा घाइते अवस्थामा भेटिएको थियो । त्यस्तै, एउटा चरीबाघ र पाँच मृग जीवितै उद्धार गरिएका थिए भने एउटा मृग मृत अवस्थामा फेला परेको थियो ।

यसैगरी, चार अजिङ्गर, २७ सर्प, एउटा गिद्ध र तीन भार्सेको जीवितै उद्धार गरिएको कार्यालयले जनाएको छ । एउटा स्याल भने मृत अवस्थामा फेला परेको थियो ।

वन्यजन्तु बस्तीमा प्रवेश गर्ने, घाइते अवस्थामा भेटिने वा अन्य कारणले जोखिममा पर्ने घटनामा कार्यालयले उद्धार तथा व्यवस्थापन गर्दै आएको छ । वन्यजन्तुको संरक्षणसँगै मानव बस्तीमा उत्पन्न हुने जोखिम न्यूनीकरण र प्रभावित स्थानीयवासीलाई राहत उपलब्ध गराउने कामलाई पनि कार्यालयले निरन्तरता दिँदै आएको छ ।

वन्यजन्तुको आक्रमणबाट मानिस घाइते भएकालाई राहतस्वरूप रु दुई लाख १८ हजार १०० वितरण गरिएको छ । बाँदर र भालुको आक्रमणबाट मानिस घाइते भएपछि उक्त रकम उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।

त्यसैगरी, वन्यजन्तुको आक्रमणबाट पशुधनमा क्षति पुगेका किसानलाई रु पाँच लाख राहत वितरण गरिएको छ । सो अवधिमा ५१ बाख्रा, एउटा गोरु र एउटा पाँडामा क्षति पुगेको कार्यालयको विवरणमा उल्लेख छ । वन्यजन्तुले कृषिबालीमा पुर्‍याएको क्षतिबापत किसानलाई रु १४ हजार २५० राहत उपलब्ध गराइएको छ । बाँदरले मकैबालीमा क्षति पुर्‍याउँदा किसान प्रभावित भएका थिए ।

वन्यजन्तु उद्धारका घटना र क्षतिबापत राहत वितरणको विवरणले जिल्लामा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनको आवश्यकता औँल्याएको छ । वन्यजन्तु बस्तीमा प्रवेश गर्दा मानिसको सुरक्षामा जोखिम बढ्नुका साथै पशुधन र कृषिबालीमा समेत क्षति पुग्ने गरेको प्रमुख रानाभाटले बताउनुभयो ।

वन्यजन्तुको संरक्षण गर्दै स्थानीय बासिन्दाको सुरक्षा र जीविकोपार्जनमा पर्ने असर न्यूनीकरण गर्नु आवश्यक रहेको उहाँको भनाइ छ । डिभिजन वन कार्यालयले वन्यजन्तुको उद्धार तथा व्यवस्थापनसँगै प्रभावित व्यक्ति र किसानलाई राहत उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *