‘युवामैत्री शासन’ स्थापना गर्न सरोकारवालाहरूको जोड, लगानी बढाउन सरकारलाई आग्रह

काठमाडौँ, २० असार । मुलुकको विकास र समृद्धि युवाहरूको अर्थपूर्ण सहभागिताविना असम्भव रहेको भन्दै सरोकारवालाहरूले ‘युवामैत्री शासन’ प्रवर्द्धन गर्न र यस क्षेत्रमा लगानी बढाउन जोड दिएका छन् । उनीहरूले नीति निर्माणदेखि कार्यान्वयनसम्मका हरेक तहमा युवाको संलग्नता सुनिश्चित गर्न आग्रह गरेका हुन् ।

राष्ट्रिय युवा परिषद् र जागृति बाल तथा युवा सरोकार नेपालले काठमाडौँमा आयोजना गरेको एक छलफल कार्यक्रममा विज्ञ तथा युवा अधिकारकर्मीहरूले यस्तो धारणा राखेका हुन् । त्रिभुवन विश्वविद्यालयका उप-प्राध्यापक डा. दीपेश घिमिरेले स्थानीय तहदेखि नै युवामैत्री शासन आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार, यसका लागि ४६ वटा सूचक निर्धारण गरिएको छ, जसमा नीति निर्माणमा युवा संलग्नता, युवाका सवाल, नेतृत्व विकास र विशेष समुदायका युवाको सहभागिता जस्ता विषय समेटिएका छन् ।

कार्यक्रममा जागृति नेपालका अध्यक्ष तिलोत्तम पौडेल र अधिकारकर्मी मिना शर्माले विद्यमान सूचकहरूमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँहरूले मानसिक स्वास्थ्य, वैकल्पिक स्याहारबाट हुर्केका युवा, जलवायु परिवर्तन र सामाजिक सुरक्षा जस्ता संवेदनशील विषयलाई अझ स्पष्ट रूपमा समेट्न सुझाव दिनुभयो ।

युएनडिपी, ब्रिटिस काउन्सिल, गाउँपालिका महासंघ लगायतका साझेदार संस्थाका प्रतिनिधिहरूले पनि युवामा गरिने लगानीले नै देशको भविष्य निर्धारण गर्ने भन्दै लगानीको वातावरण बनाउनु अहिलेको मुख्य आवश्यकता भएको बताए ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवामा लगानी बढाउनु नै मुलुकलाई समृद्ध बनाउने एकमात्र बाटो भएको बताउनुभयो । उहाँले संविधान, युवा नीति र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू कार्यान्वयन गर्न सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको भन्दै युवामैत्री शासन स्थापनाको अभियानमा जुट्न सबैलाई अपिल गर्नुभयो । परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले परिषद् युवाको हकहितका लागि निरन्तर क्रियाशील रहेको जानकारी दिनुभयो ।