झाँक्रीलाई ७ दिनको अल्टिमेटम, चित्तबुझ्दो स्पष्टीकरण नआए पार्टीबाटै हटाउने तयारी
काठमाडौं, २५ असार। नेकपा (एकीकृत समाजवादी) ले नेतृ रामकुमारी झाँक्रीलाई आफ्नो विवादास्पद अभिव्यक्तिबारे लिखित स्पष्टीकरण पेस गर्न थप ७ दिनको समय दिएको छ।
पार्टी सचिवालयको बैठकले झाँक्रीको जवाफ चित्तबुझ्दो नभए उनलाई निष्कासनसम्मको कारबाही गर्ने निर्णय गरेको छ।
हालै लुम्बिनीमा आयोजित एक कार्यक्रममा झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै “सिनो बोकेर हिँड्न नसकिने” भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखेकी थिइन्। उनको यही अभिव्यक्तिले पार्टीभित्र तरंग ल्याएको हो।
बैठकको निर्णयबारे जानकारी दिँदै नेता प्रकाश ज्वालाले झाँक्रीलाई ७ दिनभित्र पार्टीमा लिखित आत्मआलोचना पेस गर्न निर्देशन दिइएको बताए। उनका अनुसार, झाँक्रीले भविष्यमा पार्टीलाई नकारात्मक असर पार्ने र पार्टी पंक्तिमा भ्रम सिर्जना गर्ने गतिविधि नगर्ने प्रतिबद्धतासमेत जनाउनुपर्नेछ।
सचिवालय बैठकमा झाँक्रीलाई सचेत गराउने, निलम्बन गर्ने वा पार्टीबाटै निष्कासन गर्ने भन्ने विषयमा छलफल केन्द्रित थियो। एक पदाधिकारीका अनुसार, अधिकांश नेताहरूले अध्यक्षमाथि गम्भीर टिप्पणी गरेर झाँक्रीले पार्टीमा अराजकतालाई प्रश्रय दिएको भन्दै उनलाई पार्टीबाटै हटाउनुपर्नेमा जोड दिएका थिए। यद्यपि, केहीले उनलाई आत्मालोचना गर्ने मौका दिनुपर्ने मत राखेपछि अन्तिम निर्णयका लागि उनको स्पष्टीकरण कुर्ने निचोडमा पार्टी पुगेको हो।