ढिलाइप्रति क्षमायाचना गर्दै उपप्रमुख डंगोलले भनिन्: ‘विगतका मनमुटाव भुलेर अब एकढिक्का भयौँ’

काठमाडौँ, २९ असार। काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कानुनी समयसीमाभित्र बजेट ल्याउन नसकेकोमा महानगरवासीसमक्ष क्षमायाचना गर्नुभएको छ।
विगतमा जनप्रतिनिधिहरूबीच देखिएका केही अविश्वास र मनमुटावका कारण ढिलाइ भएको स्वीकार गर्दै उहाँले अब सबै एकढिक्का भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा उपप्रमुख डंगोलले भन्नुभयो, “हामीबीच केही अविश्वास र तिता-मिठा अनुभव प्रस्तुत भए, आरोप-प्रत्यारोप पनि भए। तर, ती सबै कुराको मन्थनपछि समस्या समाधान भएका छन् र आज हामी फेरि एकढिक्का भएर यस गरिमामय सभामा उपस्थित भएका छौँ।” उहाँले समयमै नीति तथा कार्यक्रम पेश गर्न नसकेकोमा आफ्नो र सम्पूर्ण नगर सभा सदस्यहरूको तर्फबाट क्षमा माग्नुभयो।
ढिलै भए पनि बजेट ल्याउन सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरूलाई धन्यवाद दिँदै उहाँले आफ्नो ३ वर्षे कार्यकालमा जनताका अपेक्षाहरू धेरै रहेको स्वीकार गर्नुभयो। “अबका दिनमा हामी आफ्नो सामर्थ्यले भ्याएसम्म महानगरवासीका लागि काम गर्ने प्रण गर्दछौँ,” उहाँले भन्नुभयो, “आपसमा सहमति, समन्वय र सहअस्तित्वको भावनाले काम गरेमा जनताका इच्छा पूरा गर्न सकिन्छ।”
उपप्रमुख डंगोलले काठमाडौँको मुहार फेर्न महानगर एक्लैले नसक्ने भन्दै संघीय र प्रदेश सरकारलगायत अन्य सरोकारवाला निकायहरूसँग निरन्तर सहकार्यको अपेक्षा राखेको बताउनुभयो।