बासस्थानकाे कारणले गर्दा घोडाघोडीमा हरिहाँसको संख्या घट्यो
कैलाली, ३० असार। विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा पाइने सूचक प्रजाति हरिहाँसको संख्यामा यस वर्ष उल्लेख्य गिरावट आएको छ।
हालै गरिएको गणनाअनुसार ताल क्षेत्रमा हरिहाँसको संख्या जम्मा १२६ मा झरेको छ, जुन गत वर्षको गणनामा २२५ थियो।
डिभिजन वन कार्यालय, पहलमानपुरसँगको सहकार्यमा नेपाल पक्षी संरक्षण सङ्घ (बिसिएन) ले असार २४ देखि २६ गतेसम्म गर्मीयामको गणना गरेको हो। घोडाघोडी क्षेत्रको पारिस्थितिक स्वास्थ्यको सूचक मानिने हरिहाँसको अवस्था अद्यावधिक गर्न नियमित गणना गरिँदै आएको डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो।
नेपाल पक्षी संरक्षण सङ्घका फिल्ड अधिकृत हिरुलाल डगौराका अनुसार, गर्मीयाम हरिहाँसको प्रजनन समय (ब्रिडिङ सिजन) भएकाले संख्या कम देखिनु स्वाभाविक हो। “यस समयमा हरिहाँसहरू प्रजननका लागि कैलालीको भजनीस्थित लौकाहाभौकाहा र घोरतालजस्ता अन्य सिमसार क्षेत्रमा छरिन्छन्,” उहाँले भन्नुभयो।
तर, चरा संरक्षणकर्मीहरूले यसलाई दीर्घकालीन समस्याको सङ्केत मानेका छन्। चरा संरक्षण नेटवर्क, कैलालीका अध्यक्ष दयाराम चौधरीले बासस्थान विनाश नै संख्या घट्नुको प्रमुख कारण भएको बताउनुभयो। “हरिहाँसले पानीमा रमाए पनि सुकेका रूखमा गुँड लगाउँछ, तर त्यस्ता रूखहरू नासिँदै जाँदा उनीहरूको बासस्थान संकटमा परेको छ,” उहाँले भन्नुभयो। मानवीय गतिविधि र कृषिमा विषादीको प्रयोगले पनि चुनौती थपेको छ।
सन् २००३ मा विश्व रामसार क्षेत्रमा सूचीकृत हुँदा घोडाघोडीमा करिब एक हजार हरिहाँस थिए। तराईकै ठूलो यो सिमसार क्षेत्रलाई २०७८ फागुनमा नेपालकै पहिलो ‘चरा अभय आरण्य क्षेत्र’ समेत घोषणा गरिएको थियो। तर, सूचक प्रजातिहरूको संख्या घट्दै जानुले समग्र पारिस्थितिक प्रणालीमै असर परेको देखिन्छ। हरिहाँसका साथै मगर गोही र जङ्गली धान पनि यस क्षेत्रका मुख्य सूचक प्रजाति हुन्।