दार्चुलामा तुइन चुँडिदा महाकाली नदीमा एक युवक बेपत्ता
दार्चुला, ३१ असार । दार्चुलाको व्याँस गाउँपालिकामा तुइन चुँडिदा महाकाली नदीमा खसेर एक युवक बेपत्ता भएका छन्।
व्याँस गाउँपालिका–२, दुम्लिङमा भारततर्फ जाने क्रममा तुइन चुँडिदा स्थानीय २८ वर्षीय नारायण बुढाथोकी नदीमा बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय, दार्चुलाका अनुसार, आज दिउँसो करिब १२ बजे भएको घटनामा बुढाथोकी नदीको बीच भागमा पुगेपछि तुइन चुँडिएको थियो। प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिएअनुसार, उनीसँगै रहेका अर्का व्यक्ति २६ वर्षीय जितु बिष्टले सकुशल नदी पार गरिसकेका थिए भने ४५ वर्षीय जयदु बुढाथोकी पार गर्ने पालो कुरिरहेका थिए।
नारायण तुइनबाट नदी तरिरहेको बेला एक्कासी तुइन चुँडिएपछि उनी महाकालीमा खसेका थिए। घटनालगत्तै स्थानीय र प्रहरी मिलेर बेपत्ता बुढाथोकीको खोजी कार्य जारी राखेका छन्। “महाकाली नदीमा उनको खोजी भइरहेको छ,” प्रहरी निरीक्षक रावतले भन्नुभयो।