भूतप्रेत धपाउँदै र चाडपर्व भित्र्याउँदै: नेवार समुदायमा गाथामग चह्रेको रौनक

काठमाडाैं, ७ साउन । आज श्रावण कृष्णपक्ष चतुर्दशीका दिन काठमाडाैंसहित देशभरका नेवार समुदायले ‘गाथामग चह्रे’ पर्व हर्षोल्लासका साथ मनाउँदैछन्।

‘घण्टाकर्ण चतुर्दशी’ को नामले पनि चिनिने यो पर्व घरलाई शुद्ध पारी भूतप्रेत र नकारात्मक शक्तिलाई धपाउने तथा वर्षभरिका चाडपर्वको सुरुवात गर्ने दिनको रूपमा विशेष महत्व राख्दछ।

यो पर्व नेवार समुदायको मौलिक पर्व मानिन्छ, जसले रोपाइँको समापन र उत्सवको प्रारम्भको सङ्केत गर्छ। आज बिहानैदेखि घर लिपपोत गरी शुद्ध बनाउने, मन्दिरबाट जल ल्याएर घरका सबै कुनामा छर्कने र भाँडाकुँडा चोख्याउने गरिन्छ। घर शुद्धीकरणपछि ‘बौ वाय् ज्या’ अर्थात् भूतप्रेत पन्छाउने विधि गरिन्छ। यसमा माटोको भाँडोमा चिउरा, जाँडको कट, लसुन, रगत, खुर्सानी जस्ता वस्तु राखेर घरको मूलढोका र टोलको दोबाटो-चौबाटोमा लगेर सेलाइन्छ।

यस दिन घरलाई दुष्टात्माबाट बचाउन मूलढोकामा तीनखुट्टे फलामको किला र मयूरको प्वाँख ठोक्ने प्रचलन छ। साथै, बालबालिका तथा वयस्कहरूले सुरक्षाका लागि फलाम वा तामाको औँठी र कल्ली लगाउने गर्छन्।

साँझपख, टोल-टोलमा नर्कट र छ्वालीबाट बनाइएको राक्षस ‘गाथामंग’ को प्रतीकलाई बाजागाजासहित नजिकैको खोला, दोबाटो वा नगरबाहिर लगेर जलाइन्छ। यो दहनसँगै रोपाइँको समयमा बढेका लामखुट्टेको प्रकोप घट्ने विश्वास स्वरूप ‘लामखुट्टेको एउटा दाँत भाँचिने’ जनविश्वास रहिआएको छ। गाथामग जलाएर फर्किंदा गाइजात्रा सुरु भएको सङ्केत दिँदै ‘घिनताङघिसी’ नाच नाचेर आउने परम्परा छ।

संस्कृतिविद्हरूका अनुसार, यो पर्व काठमाडौँ उपत्यकामा करिब दुई हजार वर्षदेखि प्रचलनमा छ। यसले रोपाइँको थकान मेटाउने, घरआँगन सफा राख्ने र नकारात्मक सोच त्यागेर व्यक्ति, परिवार र समाजमा शान्ति कायम गर्न प्रेरणा दिन्छ। यही दिनदेखि गाइजात्राका लागि विभिन्न नाचगान र बाजागाजाको प्रशिक्षण सुरु हुन्छ भने भक्तपुरमा प्रसिद्ध नवदुर्गा नाचका लागि मुकुन्डो बनाउने कार्यको समेत थालनी गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *