सशस्त्र प्रहरीद्वारा सुनसरीमा १७ लाखभन्दा बढीको अवैध सामान बरामद

धरान, ८ साउन । सुनसरीमा सशस्त्र प्रहरी बलले भन्सार छली गरी नेपाल भित्र्याइएको १७ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ ।

जिल्लाका तीन फरक स्थानबाट गरिएको कारबाहीमा लत्ताकपडा, किराना सामग्री र चारवटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटरका अनुसार, गढी गाउँपालिका, इनरुवा नगरपालिका र दुहबी नगरपालिकाका विभिन्न स्थानमा खटिएको गस्ती टोलीले उक्त सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले गस्ती टोलीलाई देख्नासाथ तस्करहरू सामान र मोटरसाइकल छाडेर भागेको जानकारी दिनुभयो ।

बरामद गरिएका सामान र को.१९ प.९०९२, को ३ प १२०, प्रदेश १–०२–०३६ प ३६०८ र प्रदेश.१–०२–०५४ प.६७८३ नम्बरका मोटरसाइकलसहित कुल १७ लाख ५० हजार ८०५ रुपैयाँ बराबरको सम्पत्ति आवश्यक कारबाहीका लागि सेतुबन्धस्थित मुख्य भन्सार कार्यालयमा बुझाइएको छ ।