५० हजार सिट क्षमता भएको फुटवल रङगशाला निर्माणको कार्य अगाडी बढ्यो
काठमाडौँ, साउन १६ गते । युवा तथा खेलकुद मन्त्री तेजुलाल चोधरीले शुक्रबार युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्य सम्पादनको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ ।
सो कार्यक्रममा मन्त्री चौधरीले भक्तपुर जिल्लामा ५० हजार सिट क्षमता भएको फुटवल रङगशाला निर्माणको कार्य अगाडी बढाइएको जानकारी दिए । यसैगरी अन्तर्राष्ट्रिय भलिवल कभर्डहल निर्माणका लागि काठमाडौँ उपत्यका भित्र जग्गा प्राप्तिको कार्य भइरहेको र नेपाल स्पोर्ट्स इनभेस्टमेन्ट समिट २०२५ को आयोजना गर्ने तयारी भइरहेको पनि बताए ।
दशौँ राष्ट्रिय प्रतियोगिता भव्य र सभ्य रुपमा सम्पन्न गर्न तयारी तथा छलफल भइरहेको र राष्ट्रिय खेलकुदको मिति छिट्टै तय हुने र तोकिएको मितिमा हुने दावी पनि मन्त्री चौधरीले गरेका छन् ।
यसैगरी खेलकुद मन्त्रालयलले नेपालको दोस्रो पुरानो रङगशाला नारायणी रंगशाला र नारायणी कभर्ड हलका साथै उच्च हिमाली क्षेत्रमा (दोलखा मुस्ताङ जुम्ला सोलुखुम्बु) जिल्लामा हाइ अल्टिच्यूड प्रशिक्षण सेन्टरको निर्माण कार्य पनि अगाडि बढाएको छ । मूलपानी क्रिकेट रङगशाला, काठमाडौं, गिरिजाप्रसाद कोइराला क्रिकेट रङगशाला, मोरङ तथा फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान र खेल ग्राम धनगढी कैलालीको डिपाआर र इआइए सम्पन्न भएका छन् । यसैवर्ष सातदोबाटोमा हाई पर्फमेन्स सेन्टर एण्ड नेशनल स्पोर्टस साइन्स ल्यावको पनि स्थापना भएको छ ।
सो कार्यक्रममा मन्त्री चौधरीले युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०८१–८२ मा राष्ट्रिय खेलकुद नीति, २०८२ जारी गर्नुका साथै नेपाल खेलकुद विज्ञान प्रतिष्ठान कार्यविधि २०८२ को मस्यौदा पनि तयार गरेको थियो । यसैगरी संरचनागत सुधारतर्फ नेसनल एन्टि डोपिङ ऐजन्सी नेपालको कार्यलय स्थापना भएको छ ।
खेलकुद मन्त्री चौधरीले जापानमा हुने २० औँ एसियाली खेलकुदका लागि मिसन २०२६ खेलाडी प्रशिक्षणअन्तर्गत दस खेलका ८५ खेलाडी र १९ प्रशिक्षकलाई विशेष प्रशिक्षण सञ्चालन भइरहेको जानकारी पनि दिएका छन् ।