तनहुँको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी, सामाग्री जलेर नष्ट

तनहुँ, १७ साउन । तनहुँको घिरिङ गाउँपालिका–१, पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आज दिउँसो आगलागी भएको छ।

विद्युत् चुहावटका कारण शिक्षालयको भण्डार कोठामा भएको आगलागीबाट महत्त्वपूर्ण कागजात तथा विद्युतीय उपकरणहरू जलेर क्षति पुगेको छ।

शिक्षालयका प्रमुख कृष्णबहादुर श्रेष्ठका अनुसार, दिउँसो खाजा खाने समयमा भण्डार कोठाको झ्यालबाट धुवाँ निस्किएको देखिएपछि आगलागीबारे थाहा भएको थियो। आगलागीबाट कोठामा रहेका कागजपत्र, कम्प्युटर, प्रिन्टर तथा दुईवटा पङ्खा जलेर नष्ट भएका छन्।

प्रमुख श्रेष्ठले शिक्षक, कर्मचारी, विद्यार्थी तथा सुरक्षाकर्मीहरूको तत्कालको सक्रियता र सहकार्यमा अग्निनियन्त्रक यन्त्रको प्रयोग गरी आगो निभाइएको जानकारी दिनुभयो। समयमै आगो नियन्त्रणमा लिइएकाले थप क्षति हुनबाट जोगिएको उहाँको भनाइ छ।