सम्झना भट्ट मृत्यु प्रकरण: आत्महत्या दुरुत्साहनमा श्रीमान् र सासूससुरा पक्राउ

कञ्चनपुर, साउन २० । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा १७ वर्षीया युवती आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएको घटनामा प्रहरीले उनका श्रीमान्, सासू र ससुरालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार, बेलडाँडी–२ की मृतक सम्झना भट्टका श्रीमान् २४ वर्षीय पवन भट्ट, ससुरा हरिदत्त भट्ट र सासू किरण भट्टलाई नियन्त्रणमा लिइएको हो।

मृतकका माइती पक्षले सम्झनालाई घरेलु हिंसा, दाइजोको निहुँमा यातना र मानसिक तनाव दिएका कारण आत्महत्या गर्न बाध्य पारिएको भन्दै जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको हो।

डीएसपी बोहराले भन्नुभयो, “आत्महत्या दुरुत्साहनको कसुरमा अनुसन्धान गर्न अदालतबाट म्याद थप गरी तीनै जनालाई हिरासतमा राखेका छौँ।” श्रीमान् पवनलाई आइतबार नै पक्राउ गरी पाँच दिनको म्याद थप गरिएको थियो।

प्रहरीका अनुसार, करिब छ महिनाअघि प्रेम विवाह गरेका सम्झना र पवनबीच शनिबार झगडा भएको थियो। झगडापछि दुवै जना बेलडाँडी प्रहरी चौकी पुगेका थिए, जहाँ प्रहरीले सम्झाई–बुझाई घर पठाएको थियो। तर, त्यसको भोलिपल्टै आइतबार सम्झना आफ्नो सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।

मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ र प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *