ललितपुरमा मानमानेश्वरी भवानीको ऐतिहासिक पायो जात्रा सुरु

राजकीय देवी तथा प्रमुख शक्तिपीठ

काठमाडौँ, कार्तिक १ । लिच्छविकालदेखि राजकीय देवी तथा प्रमुख शक्तिपीठका रूपमा पुजिँदै आएको मानमानेश्वरी भवानीको परम्परागत पायो (खड्ग) जात्रा ललितपुरको पाटनमा सुरु भएको छ । बडादसैँको फूलपातीका दिन मानमानेश्वरी भवानीलाई आगमघरबाट निकालेर पाटन दरबारस्थित मूलचोकमा प्रतिस्थापन गरेसँगै प्रारम्भ हुने यो जात्रा त्रयोदशीसम्म विभिन्न धार्मिक विधिपूर्वक सञ्चालन गरिन्छ ।

गौरवशाली इतिहास र मौलिक परम्पराको प्रतीकका रूपमा रहेको पायो जात्रालाई पाटनवासीले आफ्नो महत्त्वपूर्ण ऐतिहासिक तथा सांस्कृतिक विरासतका रूपमा मनाउँदै आएको जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय देवगण तथा गुठियारहरूले परम्परागत पहिरन र मुकुण्डो लगाई हातमा खड्ग (तरबार) बोकेर बाजागाजासहित नगर परिक्रमा गर्नु यस जात्राको मुख्य आकर्षण हो । यो जात्रा लिच्छवि, मल्ल तथा शाहकालीन संस्कृतिसँग गाँसिएको ललितपुरकै प्राचीनतम पर्वमध्ये एक मानिन्छ ।

यसैबीच ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यस्ता ऐतिहासिक तथा अमूर्त सांस्कृतिक सम्पदाहरूको संरक्षण र निरन्तरताका लागि महानगरपालिका सदैव प्रतिबद्ध रहेको बताउनुभयो। यो जात्रा मात्र नभई पुर्खाको विरासत र स्थानीय पहिचान भएको उल्लेख गर्दै प्रमुख महर्जनले आगामी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने यस्ता अमूल्य सम्पदाहरूको सञ्चालन तथा प्रवर्द्धनमा कुनै कमी हुन नदिने स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *