सीप पुस्तान्तरण नहुँदा भोजपुरमा माटाका भाँडा बनाउने पेसा सङ्कटमा : प्रयोग घट्दै

मौलिक चलन हराउँदै

काठमाडौँ, कार्तिक १ । नयाँ पुस्तामा परम्परागत सीपप्रतिको आकर्षण घट्दै जाँदा भोजपुरका ग्रामीण भेगमा माटाका भाँडा बनाउने तथा प्रयोग गर्ने मौलिक चलन हराउँदै जान थालेको छ। सीप पुस्तान्तरणको अभाव र आधुनिक सामग्रीप्रतिको निर्भरताका कारण यो परम्परागत पेसा सङ्कटमा परेको हो ।

विगतमा घरायसी तथा धार्मिक प्रयोजनका लागि अनिवार्य मानिने गाग्री, हाँडी, घैँटो र धुपौरोलगायतका माटाका सामग्रीको प्रयोग अहिले निकै पातलिएको छ । गाउँघरको मौलिक परम्परा र सांस्कृतिक पहिचानसँग जोडिएका यी परम्परागत भाँडाकुँडालाई पछिल्लो समय प्लास्टिक, स्टिल तथा आल्मुनियमका सामग्रीले विस्थापित गरेका छन् ।

अरुण गाउँपालिका ७ का स्थानीय लक्ष्मीप्रसाद अधिकारीका अनुसार नयाँ पुस्तामा सीप हस्तान्तरण हुन नसक्दा यो पेसा लोपोन्मुख अवस्थामा पुगेको हो । माटो छनोट गर्ने, मुछ्ने, उपयुक्त आकार दिने र पकाएर प्रयोगयोग्य बनाउनेजस्ता प्रक्रिया झन्झटिलो हुनुका साथै पर्याप्त समय र विशेष दक्षता चाहिने भएकाले युवा पुस्ता यसतर्फ आकर्षित हुन नसकेको उहाँको भनाइ छ ।

माटाका सामग्रीको प्रयोग घट्दै जाँदा त्यससँग गाँसिएको रैथाने सीप र संस्कृति नै लोप हुने जोखिम बढेको रामप्रसादराई गाउँपालिका ८ का रूपमान श्रेष्ठ बताउनुहुन्छ । स्थानीयस्तरमा नयाँ पुस्तालाई परम्परागत भाँडा निर्माणसम्बन्धी तालिम प्रदान गर्दै यसको सांस्कृतिक तथा वातावरणीय महत्त्व बुझाएर प्रयोगलाई पुनः प्रोत्साहन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *