दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा नियमित सञ्चालन हुने
विशेषज्ञ स्वास्थ्य सेवा निरन्तर
काठमाडौँ, कार्तिक १ । बडादसैँको सार्वजनिक बिदाका समयमा पनि चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले आफ्ना विशेषज्ञ स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्ने भएको छ। चाडपर्वको अवधिमा बिरामीलाई उपचार सेवा पाउन सहज होस् भन्ने उद्देश्यले अस्पतालले आगामी कात्तिक २ देखि ५ गते (महाअष्टमीदेखि एकादशी) सम्म चार दिन आकस्मिक कक्षबाट सम्पूर्ण सेवा उपलब्ध गराउने जनाएको हो ।
अस्पतालका निर्देशक प्रा. डा. गोपेन्द्र देवका अनुसार दसैँका मुख्य चार दिन आकस्मिक कक्षसहित रेडियोलोजी, प्रयोगशाला (ल्याब) तथा अन्तरङ्ग (इन-पेसेन्ट) सेवा नियमित सञ्चालनमा रहनेछन्। चाडपर्वको समयमा सडक दुर्घटना, हृदयाघात, अपच तथा झाडापखालाजस्ता स्वास्थ्य समस्याका बिरामी बढ्न सक्ने सम्भावनालाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचारको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो।
यसैगरी, बिदाका बेला अस्पताल पूर्ण रूपमा बन्द हुने भ्रम र अन्योल चिर्दै बिरामीलाई समयमै गुणस्तरीय सेवा दिन आकस्मिक कक्षलाई थप चुस्त बनाइएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले बताउनुभयो। ओपिडी (बहिरङ्ग) परामर्श आवश्यक पर्ने बिरामीका लागिसमेत आकस्मिक कक्षमै छुट्टै डेस्क स्थापना गरी सेवा दिने तयारी गरिएको उहाँले स्पष्ट गर्नुभयो ।
दीर्घरोगीहरूलाई निरन्तर परामर्श आवश्यक पर्न सक्ने तथा आकस्मिक स्वास्थ्य जटिलता जुनसुकै बेला निम्तिन सक्ने भएकाले चाडपर्वमा पनि सेवा प्रवाहलाई उच्च प्राथमिकता दिइएको अस्पताल प्रशासनले जनाएको छ ।
