जुम्लामा आयोजित घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

रैथाने घोडाको संरक्षण

काठमाडौँ, कार्तिक १ । स्थानीय रैथाने घोडाको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यका साथ जुम्लामा आयोजित परम्परागत घोडा दौड प्रतियोगितामा छापेन्द्र न्यौपाने प्रथम हुनुभएको छ ।

चन्दननाथ नगरपालिकाको आयोजना, पशु अस्पताल तथा पशु सेवा कार्यालयको सह आयोजना र कर्णाली कला तथा संस्कृति संरक्षण मञ्च जुम्लाको समन्वयमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । कुल २४ जना प्रतिस्पर्धी सहभागी रहेको प्रतियोगितामा दिलीप बोहोरा द्वितीय र अर्जुन बस्नेत तृतीय हुनुभएको कर्णाली कला तथा संस्कृति संरक्षण मञ्चका महासचिव आनन्द अधिकारीले जानकारी दिनुभयो ।

प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने प्रथम, द्वितीय र तृतीय हुने घोडसवारहरूलाई क्रमशः १५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजक पक्षले जनाएको छ ।

चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले ऐतिहासिक जुम्ली घोडाको संरक्षण, पहिचान स्थापित तथा आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ प्रतियोगितालाई निरन्तरता दिइएको बताउनुभयो । विगतमा बडादसैँको अवसर पारेर जुम्ला विमानस्थलमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता विमानस्थल कालोपत्र भएपछि हाल चन्दननाथ नगरपालिकास्थित राजासिम मैदानमा आयोजना गरिँदै आइएको नगरप्रमुख कठायतले जानकारी दिनुभयो ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले घोडा दौड प्रतियोगिता स्थानीय कला, संस्कृति र परम्परासँग गहिरो रूपमा जोडिएकाले यसले लोपोन्मुख अवस्थामा पुगेका स्थानीय जातका घोडाहरूको संरक्षणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *