असोजदेखि सवारी साधनमा इम्बोस्ड नम्बर अनिवार्य

काठमाडौँ, २० साउन । सरकारले आगामी २०८२ साल असोज १ गतेदेखि देशभरका सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने निर्णय गरेको छ। साथै, लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को छपाइलाई छिटोभन्दा छिटो सुरु गर्न सुरक्षण मुद्रण केन्द्रलाई आग्रह गर्ने निर्णय पनि भएको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको सङ्घ र प्रदेशका मन्त्री तथा सचिवहरूको विषयगत समिति बैठकले उक्त निर्णयहरू गरेको हो। निर्णयअनुसार, सबै प्रदेशका यातायात कार्यालयबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा इम्बोस्ड नम्बर अनिवार्य गरिनेछ। यसको प्रभावकारी कार्यान्वयनका लागि यातायात व्यवस्था विभागले प्राविधिक सहयोग गर्ने र ट्राफिक प्रहरी परिचालन गरिनेछ ।

बैठकले रोकिएको लाइसेन्स छपाइको गाँठो फुकाउन पनि महत्वपूर्ण निर्णय गरेको छ। सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच भएको समझदारी अनुसार, केन्द्रलाई भदौ मसान्तभित्र लाइसेन्स छपाइ सुरु गर्न अनुरोध गरिएको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशले खरिद प्रक्रिया अघि बढाइसकेकाले उनीहरूलाई पनि छपाइको अनुमति दिन केन्द्रलाई आग्रह गरिएको छ।

यसबाहेक, बैठकले १० वर्षे अवधिको लाइसेन्सको राजस्वमा एकरूपता कायम गर्ने, यातायात क्षेत्रको तथ्याङ्कलाई डिजिटलाइज गर्ने, भुक्तानी प्रणालीलाई विद्युतीय बनाउने र राइड सेयरिङ सेवालाई व्यवस्थित गर्न साझा मापदण्ड बनाउने जस्ता निर्णयहरू पनि गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *