रंगेहात १ लाख रुपैयाँ घुस लिएका कल्याणपुरका मेयर साहविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा

काठमाडौँ, २३ साउन । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

साहमाथी नाला निर्माणको भुक्तानी सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएको आरोप छ।

आयोगका अनुसार, मेयर साहले वडा नम्बर ६ मा सम्पन्न भएको नाला निर्माण कार्यको भुक्तानीका लागि बिचौलियामार्फत घुस रकम लिएको अनुसन्धानबाट पुष्टि भएको हो। सोही आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा कैद सजाय र बिगो बराबर जरिवानाको मागदाबीसहित आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो।

यसअघि आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले मेयर साहलाई सेवाग्राहीबाट लिएको १ लाख रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको थियो।