जुम्लाबाट सुर्खेत हिँडेको फोर्स गाडी कालीकोटमा दुर्घटना, ७ घाइते, ५ को अवस्था गम्भीर

जुम्ला, २३ साउन । जुम्लाबाट सुर्खेतका लागि छुटेको फोर्स गाडी कालीकोटमा दुर्घटना हुँदा सात जना घाइते भएका छन्। घाइतेमध्ये एक बच्चा र एक महिलासहित पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार, बा१झ ०९७६ नम्बरको फोर्स गाडी कालीकोटको टाकुल्ला भन्ने स्थानमा अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल तिला नदीमा खसेको थियो।

दुर्घटना कालीकोट जिल्लामा भए पनि गाडी जुम्लाबाट छुटेकाले जिल्ला प्रहरी कार्यालय जुम्लाले घटनाको समन्वय गरिरहेको छ। प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले घाइते सबैलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल कालीकोट पठाइएको जानकारी दिनुभयो।

कालीकोट प्रहरीको टोली घटनास्थलमा पुगिसकेको र घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो।