कृत्रिम बौद्धिकता (एआई) को अवसर उपयोग गर्नुपर्छः सञ्चारमन्त्री गुरुङ
काठमाडौँ, २४ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) ले ल्याएको अवसरलाई नेपालले अधिकतम उपयोग गर्दै विकासमा फड्को मार्नुपर्ने बताउनुभएको छ ।
३१औँ विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति आयोगले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले एआईको प्रयोगबाट आज विश्वका धनी र गरिब सबै राष्ट्रले लाभ लिइरहेको उल्लेख गर्नुभयो ।
सरकारका प्रवक्तासमेत रहनुभएका उहाँले कृषि, स्वास्थ्य, शिक्षा, सुशासन र विपद् व्यवस्थापन जस्ता क्षेत्रमा एआईको प्रयोग बढाउन सरकारले काम गरिरहेको जानकारी दिनुभयो । “एआई हाम्रो लागि अवसर हो, तर यसको सही प्रयोग गर्न नसके चुनौती पनि थपिन सक्छ,” मन्त्री गुरुङले भन्नुभयो, “त्यसैले यसको सही सदुपयोगमा ध्यान दिन आवश्यक छ ।”
कार्यक्रम ‘आदिवासी जनजाति र कृत्रिम बौद्धिकताः अधिकारको रक्षा र भविष्यको निर्माण’ भन्ने विषयमा केन्द्रित थियो । संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वभर ९० भन्दा बढी देशमा ६० करोडभन्दा बढी आदिवासी जनजाति बसोबास गर्छन्, जसले विश्वको ८५ प्रतिशत जैविक विविधताको संरक्षण गरेका छन् । नेपालमा मात्रै १२४ मध्ये ९३ भाषा आदिवासी जनजातिका हुन् ।
कार्यक्रममा आयोगका अध्यक्ष रामबहादुर थापामगरले आदिवासी जनजातिको विशिष्ट ज्ञान, सीप र पहिचानको संरक्षण गर्नु राज्यको महत्त्वपूर्ण दायित्व भएको बताउनुभयो ।