दिवंगतहरूकाे सम्झनामा गाईजात्रा पर्व, आज देशभर धुमधामका साथ मनाइँदै
काठमाडौँ, २५ साउन । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आज देशभर परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाइँदैछ।
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि सुरु हुने यो पर्वको मुख्य रौनक आज काठमाडौँ उपत्यकालगायत नेवार समुदायको बसोबास रहेका सहरहरूमा देखिन्छ।
यो पर्वको सुरुवात तत्कालीन राजा प्रताप मल्लले पुत्रशोकमा डुबेकी आफ्नी रानीलाई सान्त्वना दिन गरेको मानिन्छ। संसारमा अरूले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजाले जनतालाई आफ्ना दिवङ्गत आफन्तका नाममा गाईजात्रा निकाल्न आदेश दिएका थिए। धार्मिक विश्वासअनुसार, यसरी नगर परिक्रमा गर्दा मृतकको आत्माले गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्छ र स्वर्गमा बास पाउँछ।
जात्राले मात्र रानीको मन शान्त नभएपछि राजा प्रताप मल्लले विभिन्न हास्यव्यङ्ग्यात्मक कार्यक्रम आयोजना गर्न लगाएको जनश्रुति छ। त्यहीँबाट गाईजात्रामा सामाजिक र राजनीतिक विकृतिप्रति प्रहार गर्ने प्रचलन बसेको हो। यो पर्व शासक र प्रशासकहरूका गलत कामकारबाहीलाई जनताले वर्षमा एक दिन निर्धक्क भएर व्यङ्ग्य गर्ने अवसर पनि हो।
आजको दिन काठमाडौँ उपत्यका, बनेपा, धुलिखेल, पोखरा, धरान, वीरगञ्जलगायतका सहरमा गाई वा मानिसलाई राधा कृष्णकारूपमा सिँगारी नगर परिक्रमा गराइन्छ। श्रद्धालुहरूले उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा र द्रव्य दान गर्दछन्। यस अवसरमा हाँस्य कलाकारहरूले विशेष कार्यक्रमहरू आयोजना गर्छन् भने पत्रपत्रिकाहरूले पनि हास्यव्यङ्ग्य विशेषाङ्क प्रकाशन गर्दछन्।
उपत्यकाकै भक्तपुरमा भने गाइजात्रा आठ रात नौ दिनसम्म मनाइन्छ । भक्तपुर दरबारस्क्वायरस्थित तलेजुबाट साँझ लठी जुधाएर खेलिने घिन्ताङगिसी नाचको प्रदर्शन सुरु भएसँगै जात्रा सुरु हुन्छ । गाईजात्राको दिन विशेष उल्लासका साथ भक्तपुरमा गाईजात्रा मनाइँन्छ। देशभरमै आकर्षक मानिने यहाँको गाईजात्रा हेर्न काठमाडौं उपत्यका र उपत्यका आसपासका हजारौंमा जात्रालु आउने गर्दछन्।
सरकारले आज गाईजात्राको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ।