महालक्ष्मी बैंकको पौने ३ करोड हिनामिना: पूर्वप्रबन्धकसहित चार कर्मचारी पक्राउ

काठमाडौं, २६ साउन । महालक्ष्मी विकास बैंकको दार्चुलास्थित शाखाबाट करिब पौने तीन करोड रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले बैंकका पूर्वप्रबन्धकसहित चार जना पूर्वकर्मचारीलाई पक्राउ गरेको छ।

उनीहरूले बैंकको भल्टमा रहेको नगद गैरकानुनी रूपमा निकाली बैंकलाई नोक्सानी पुर्‍याएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

पक्राउ पर्नेहरूमा तत्कालीन शाखा प्रबन्धक डोटीका ३५ वर्षीय सागर शाही, नगद विभागकी २९ वर्षीया निर्मला साउँद, ग्राहक सेवामा कार्यरत बैतडीका २८ वर्षीय अम्बादत्त पन्त र कर्जा विभागका दार्चुलाका ३१ वर्षीय धनन्जय पन्त रहेका छन्।

प्रहरीका अनुसार, उनीहरूले दार्चुलाको शैल्यशिखर नगरपालिका-९, गोकुलेश्वरस्थित शाखामा कार्यरत रहँदा मिलेमतो गरी २ करोड ८४ लाख ७६ हजार ७०२ रुपैयाँ २९ पैसा हिनामिना गरेका थिए।

बैंकले दिएको जाहेरीका आधारमा पक्राउ परेका चारै जनालाई जिल्ला अदालत, दार्चुलाबाट बैंकिङ कसुर मुद्दामा अनुसन्धानका लागि सात दिनको म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *