इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

इलाम, ५ मङ्सिर । इलामको सूर्योदय नगरपालिकास्थित कन्याममा आजदेखि दुईदिने ‘प्रथम सूर्योदय चिया महोत्सव–२०८३’ सुरु हुँदैछ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको साझेदारीमा आयोजना हुने महोत्सवको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङ्वा (लिम्बू)ले गर्ने कार्यक्रम छ।

सूर्योदय चिया महोत्सव कार्यक्रम व्यवस्थापन समितिका संयोजक एवं सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उगेन लामाका अनुसार चिया पर्यटन प्रवर्द्धन गर्नुका साथै निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले पहिलोपटक महोत्सव आयोजना गरिएको हो। महोत्सवमा आन्तरिक तथा बाह्य गरी १० हजारभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ।

महोत्सवमा ‘टि ट्रेल रेस’, चियासम्बन्धी अन्तरसंवाद, चिया प्रवर्द्धन तथा स्वाद परीक्षण, चियाबारी ट्रेल पदयात्रा, स्थानीय खाना तथा परिकारको प्रदर्शनी र सांस्कृतिक झाँकीलगायत कार्यक्रम आयोजना हुनेछन्। सूर्योदय नगरपालिका क्षेत्रका विभिन्न ब्रान्डका चियाको प्रदर्शनी, टेस्टिङ तथा बजारीकरणका लागि समेत कक्ष राखिनेछ।

महोत्सवअन्तर्गत पुरुष र महिलातर्फ छुट्टाछुट्टै ‘टि ट्रेल रेस’ प्रतियोगिता हुनेछ। पुरुषतर्फ कन्याममा १२ दशमलव ५ किलोमिटर तथा महिलातर्फ नौ किलोमिटर दूरीको दौड हुनेछ। पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २० हजार, १० हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र स्वीस सरकारको सहयोगमा सञ्चालित पदमार्गमा आधारित पर्यटन विकास परियोजनाअन्तर्गत सूर्योदय नगरपालिका–७ कन्यामदेखि वडा नं ५ श्रीअन्तुसम्म २५ दशमलव ५ किलोमिटर लामो ‘चिया पदमार्ग’ निर्माण भइरहेको छ। उक्त पदमार्गको प्रचारप्रसार तथा चिया पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

महोत्सव सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

सूर्योदय नगरपालिका–७ मा रहेको कन्याम इलामको प्रमुख पर्यटकीय गन्तव्य हो। हरियाली चियाबारीले घेरिएको कन्याममा वनभोज, घोडचढी, फोटो तथा भिडियो खिच्न र प्राकृतिक दृश्यावलोकन गर्न दैनिक ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन्। मेची राजमार्गसँग जोडिएको कन्याम झापाको चारआलीबाट करिब एक घण्टाको यात्रामा पुग्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *