कालीगण्डकीमा रोकिएन अवैध दोहन, मध्यरातमा स्काभेटर र टिपरको लर्को
बागलुङ, २७ साउन । सरकारले बर्खायाममा नदीजन्य पदार्थ उत्खननमा लगाएको प्रतिबन्धलाई चुनौती दिँदै बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी नदीमा अवैध दोहन तीव्र बनेको छ।
स्थानीय प्रशासन र प्रहरीको आँखा छल्नका लागि क्रसर व्यवसायीले मध्यरातमा स्काभेटर र टिपर प्रयोग गरी नदीको बालुवा तस्करी गरिरहेका छन्।
कानुनअनुसार असारदेखि भदौ १५ गतेसम्म नदीबाट कुनै पनि पदार्थ निकाल्न पाइँदैन। तर, बागलुङ र पर्वतका दर्जनभन्दा बढी स्थानमा यो नियमको खुलेआम उल्लङ्घन भइरहेको छ। शनिबार राति मात्रै बागलुङको सहस्रधारा क्षेत्रमा एउटा स्काभेटरले नदीबाट बालुवा निकाल्दै र पाँचवटा टिपरले ओसार्दै गरेको भेटिएको थियो। यसरी अवैध रूपमा सङ्कलन गरिएको बालुवा हिउँदमा उपभोक्तालाई चर्को मूल्यमा बिक्री गर्ने गरिएको छ।
“कालीगण्डकी बचाउ अभियान”का संयोजक आरके अदिप्त गिरीले प्रहरी प्रशासन र स्थानीय तहकै मिलेमतोमा दोहनले प्रश्रय पाइरहेको आरोप लगाउनुभयो। “मालढुङ्गामा प्रहरी चौकी छ, नजिकै दोहन भइरहेको छ। मिलेमतोबिना यो सम्भव छैन,” उहाँले भन्नुभयो, “स्थानीय तह, प्रशासन र जिल्ला समन्वय समिति एकअर्कालाई दोष दिएर पन्छिइरहेका छन्।”
अवैध उत्खननले पवित्र शालिग्राम शिलासमेत सङ्कटमा परेको र नदी किनारका बस्तीहरू बाढीको उच्च जोखिममा परेको गिरीको भनाइ छ। बागलुङ नगरपालिका–१ को माझी बस्ती, मालढुङ्गा र कालाखोला बगर क्षेत्रका घरहरूमाथि खतरा बढेको छ।
यता, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीले अवैध दोहन रोक्न नसकिएको स्वीकार गर्नुभयो। उहाँले राजस्व गुम्ने डर र स्थानीय तहले ठेक्का व्यवस्थापन गर्न नसक्दा समस्या आएको बताउँदै अब दोहन हुने सम्भावित स्थानमा सादा पोसाकमा प्रहरी परिचालन गर्ने योजना रहेको जानकारी दिनुभयो।