शिक्षक महासंघले भदौदेखि आन्दोलन गर्ने: माग पुरा नभए विद्यालय ठप्प पार्ने

काठमाडौँ, २२ साउन । नेपाल शिक्षक महासंघले आफ्ना विभिन्न शैक्षिक तथा पेसागत मागहरू पूरा गराउन आगामी भदौ महिनादेखि देशभर आन्दोलन गर्ने घोषणा गरेको छ। महासंघको हालै सम्पन्न तेस्रो राष्ट्रिय परिषद् बैठकले सङ्घर्षमा जाने निर्णय गरेको हो।

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै महासंघले बैठकका १५ बुँदे निर्णयहरू सार्वजनिक गरेको छ। जसमा विगतमा सरकारसँग भएका सम्झौताहरूको कार्यान्वयन र हाल देखा परेका नयाँ शैक्षिक मुद्दाहरूलाई मुख्य मागका रूपमा अघि सारिएको छ।

आन्दोलन गर्ने सैद्धान्तिक निर्णय भए पनि यसको ठोस मिति र विरोधका कार्यक्रमहरू भने तय हुन बाँकी छ। परिषद् बैठकले आन्दोलनको औपचारिक कार्यतालिका निर्माण गर्ने जिम्मा विस्तारित कार्यदललाई दिएको छ। कार्यदलको बैठकले छिट्टै आन्दोलनका स्वरूप र मिति सार्वजनिक गर्ने महासंघले जनाएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार शिक्षक र विद्यालय कर्मचारीका पेसागत हकहित, सेवा सुविधा र शिक्षा क्षेत्रको समग्र सुधारका लागि आन्दोलन अनिवार्य भएको हो। “हामीले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि विगतका सहमति कार्यान्वयन भएनन्,” अध्यक्ष सुवेदीले भने, “त्यसैले समसामयिक मागहरू समेत समावेश गरी भदौदेखि निर्णायक सङ्घर्षमा जान लागेका हौँ।”

महासंघले आफ्ना सदस्यहरूलाई आन्दोलनका लागि तयारी अवस्थामा रहन निर्देशन दिँदै वार्ताबाट समस्या समाधान नभए विद्यालय ठप्प पार्नेसम्मका कार्यक्रम आउन सक्ने सङ्केत गरेको छ।