प्रतिनिधिसभामा विपक्षीको विरोध: प्रधानमन्त्रीको ‘विवादित’ अभिव्यक्ति फिर्ता लिन माग
काठमाडौँ, २२ साउन । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिको विरोधमा सदन अवरुद्ध गरेका छन्। सिंहदरबारस्थित संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्नेबित्तिकै विपक्षी दलका सांसदहरूले आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन्।
बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले एकसाथ उठेर विरोध जनाएका थिए। विपक्षीहरूको अवरोधका कारण संसद्को नियमित कार्यसूची प्रभावित भएको छ।
विपक्षी दलहरूले गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको एउटा जवाफलाई मुख्य मुद्दा बनाएका छन्। प्रधानमन्त्री शाहले ‘भारतको भूमि नेपालले मिचेको छ’ भन्ने अभिव्यक्ति फिर्ता लिन माग गर्दै विपक्षीहरूले त्यसको कडा प्रतिवाद गर्दै आएका छन्।
सांसदहरूले उक्त अभिव्यक्ति राष्ट्रिय हितविपरीत भएको भन्दै प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने वा प्रष्टीकरण दिनुपर्ने माग गरेका छन्।
विपक्षी सांसदहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरे पनि सभामुख अर्यालले अहिलेसम्म त्यस्तो निर्देशन नदिएकोमा आपत्ति जनाएका छन्। “न प्रधानमन्त्रीले आफ्नो गल्ती स्वीकार गरी प्रष्टीकरण दिनुभएको छ, न त सभामुखले त्यो राष्ट्रघाती अभिव्यक्ति रेकर्डबाट हटाउनुभएको छ,” विरोधमा उत्रिएका एक सांसदले भने।
सभामुख अर्यालले सांसदहरूलाई आसन ग्रहण गर्न र सदनको कारबाही अघि बढाउन पटक-पटक आग्रह गरे पनि विपक्षीहरूले प्रधानमन्त्रीको प्रष्टीकरण नआएसम्म विरोध जारी रहने अडान लिएका छन्।