सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

काठमाडौँ, २२ साउन । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको हो।

महासङ्घले तोकेको नयाँ दरअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला २ लाख ९६ हजार रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला ४ हजार ५८० रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ५७० रुपैयाँमा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उकालो लागेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार २६२ अमेरिकी डलर र चाँदी प्रतिऔँस ५८ डलरमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।