मधेस प्रदेशमा ट्रान्सफर्मर चोरको बिगबिगी: ५ वर्षमा ९९ वटा चोरी
जनकपुरधाम, २२ साउन । मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा विद्युत्का ट्रान्सफर्मर चोरी हुने क्रम तीव्र बनेको छ । नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा मात्रै प्रदेशका विभिन्न स्थानबाट ९९ वटा ट्रान्सफर्मर चोरी भएका छन् ।
नेपाल विद्युत् प्राधिकरण, मधेस प्रादेशिक कार्यालय जनकपुरधामका प्रशासन प्रमुख कालिचरण यादवका अनुसार ट्रान्सफर्मरभित्र प्रयोग हुने तामाको तार महँगो मूल्यमा बिक्री हुने भएकाले यसको चोरी बढेको हो । चोरहरूले ट्रान्सफर्मर फुटाएर भित्रका महत्वपूर्ण पार्टपूर्जा र तार लैजाने गरेका छन् ।
प्राधिकरणको तथ्याङ्कअनुसार महोत्तरी जिल्ला ट्रान्सफर्मर चोरीबाट सबैभन्दा बढी प्रभावित देखिएको छ । जिल्लागत विवरण अनुसार महोत्तरी: ३५ वटा, बारा: १५ वटा, धनुषा: १४ वटा, रौतहट: १० वटा, सर्लाही र सिरहा: ९/९ वटा, सप्तरी: ३ वटा र पर्सामा २ वटा
चोरी भएका छन् । यी ट्रान्सफर्मरहरू १५ केभिए देखि २०० केभिए क्षमतासम्मका रहेका छन् ।
ट्रान्सफर्मर चोरी भएपछि सबैभन्दा ठूलो मारमा कृषकहरू परेका छन् । खेतीको समयमा सिँचाइका लागि प्रयोग हुने ट्रान्सफर्मरहरू गायब भएपछि बालीनालीमा पानी लगाउन नपाएर किसानहरू चिन्तित बनेका हुन् । स्थानीय किसानहरूले सुरक्षाको माग गर्दै दोषीलाई तत्काल पक्राउ गरी नयाँ ट्रान्सफर्मर जडान गरिदिन सरकारसँग आग्रह गरेका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीले चोरीमा संलग्न गिरोहको खोजी भइरहेको जानकारी दिनुभएको छ । प्रहरीले शङ्कास्पद क्षेत्रमा निगरानी बढाएको र चोरी भएका ट्रान्सफर्मरहरूको खोजी कार्यलाई तीव्रता दिएको बताएको छ ।
