पर्सामा खोलामा डुबेर दुई दाजुभाइको मृत्यु

वीरगञ्ज, २७ साउन । पर्साको ठोरी गाउँपालिकामा खोलामा डुबेर दुई दाजुभाइको ज्यान गएको छ।

ठोरी–२ स्थित ढेँडुखोलामा नुहाउने क्रममा स्थानीय मनोज कठायतका ८ वर्षीय छोरा अंश र ४ वर्षीय छोरा आयांसको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, आज बिहान करिब १० बजे नुहाउन गएका दुवै बालक डुबेका थिए। उनीहरूलाई पानीमा तैरिरहेको अवस्थामा देखेपछि स्थानीयले उद्धार गरी तत्काल ठोरी स्वास्थ्यचौकी पुर्‍याएका थिए।

तर, स्वास्थ्यचौकीमा जाँच गर्दा स्वास्थ्यकर्मीले दुवैलाई मृत घोषणा गरेका थिए। प्रहरीले घटनास्थलको मुचुल्का उठाएर दुवै बालकको शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाएको जनाएको छ।