पहिरोले इलाम र बागलुङका मुख्य राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित
काठमाडौँ, २८ साउन । मनसुनी वर्षासँगै देशका विभिन्न स्थानमा खसेको पहिरोले मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्, जसका कारण जनजीवन कष्टकर बनेको छ । गए राति इलामको केचना–कञ्चनजङ्घा सडक र बागलुङको कालीगण्डकी करिडोरमा पहिरो खस्दा यातायात पूर्ण रूपमा ठप्प भएको छ ।
इलामको फिक्कलस्थित इलाम नगरपालिका–११ सोयाकको घोर्लेभिरमा पहिरो खस्दा केचना–कञ्चनजङ्घा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । सो पहिरोले गोलाखर्क हुँदै झापा जाने वैकल्पिक बाटो समेत बन्द भएपछि सवारीसाधनहरू लामो दूरीको मेची राजमार्गबाट सञ्चालन गर्न बाध्य भएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँका अनुसार, सडक डिभिजन, नेपाल प्रहरी र स्थानीयको सहकार्यमा पहिरो पन्छाउने कार्य तीव्र गतिमा भइरहेको छ ।
यसैगरी, बागलुङमा कालीगण्डकी करिडोरको बागलुङ–बलेवा खण्डमा पर्ने कालाखोलामा चट्टानसहितको सुक्खा पहिरो खसेको छ । उक्त पहिरोले बागलुङ बजारलाई दक्षिणी क्षेत्रसँग जोड्ने बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध भएको छ । करिडोर अवरुद्ध हुँदा बागलुङबाट गुल्मी, पाल्पा, रुपन्देही जाने र मुस्ताङतर्फ आउजाउ गर्ने सयौँ सवारी साधन बाटोमै रोकिएका छन् । भैरहवाबाट सामान बोकेर आएका मालबाहक ट्रकहरू पनि पहिरोका कारण अलपत्र परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख गङ्गाराम विकका अनुसार, पहिरो निरन्तर झरिरहेकाले सडक खुलाउन कठिनाइ भइरहेको छ । दुवै स्थानमा अवरुद्ध सडक खुलाउने प्रयास जारी रहे पनि यातायात कहिले सुचारु हुन्छ भन्ने अझै अनिश्चित छ ।