रौतहटमा कृष्ण जन्माष्टमी मेलाकाे उद्घाटन विवादमा मेयरको टाउको फुट्यो, झडपमा ५ घाइते, ३ पक्राउ
रौतहट, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिकामा कृष्ण जन्माष्टमी मेला उद्घाटनका क्रममा भएको झडपमा मेयर प्रेमलाल साहसहित पाँच जना घाइते भएका छन्।
रिबन काट्ने विषयमा सुरु भएको सामान्य विवादले उग्र रूप लिँदा झडपको स्थिति सिर्जना भएको हो।
शनिबार देवाही गोनाही–९ धरहरीमा आयोजित मेलाको उद्घाटन कार्यक्रममा दुई पक्षबीच विवाद चर्किएपछि झडप भएको थियो। घटनामा गम्भीर घाइते भएका मेयर साहको टाउकोमा १४ वटा टाँका लगाइएको छ। उनको गरुडास्थित बेटर मल्टिस्पेसियालिटी अस्पतालमा उपचार भइरहेको छ।
झडप नियन्त्रण गर्न खटिएका दुई प्रहरी, वरिष्ठ हवल्दार जगदीश यादव र धनसुन्दर ठाकुर, तथा दुई स्थानीयवासी श्याम विनय साह र रामविकास साह पनि घाइते भएका छन्। उनीहरूको पनि सोही अस्पतालमा उपचार जारी रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले झडपमा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ। डीएसपी राजन कार्कीका अनुसार पक्राउ पर्नेमा धरहरीका राधामोहन साह, विनोद साह र रितिक साह रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।