एमाले–कांग्रेस गठबन्धन चुनावसम्मै जान्छ, सरकार ढाल्ने हल्ला ‘अस्थिरताका रोगी’ले चलाएका हुन् : महासचिव पोखरेल

महेन्द्रनगर, २ भदौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सत्ता गठबन्धन २०८४ सालको चुनावसम्मै निरन्तर रहने दाबी गर्नुभएको छ।

उहाँले सरकार ढल्ने हल्ला फैलाउनेहरूलाई ‘अस्थिरताका रोगी’को संज्ञा दिँदै त्यस्ता निराधार प्रचारको पछि नलाग्न आग्रह गर्नुभयो।

सोमबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भन्नुभयो, “देशका दुई ठूला दल मिलेर सरकार बनेपछि देशले स्थिरता पाएको छ। तर, यही स्थिरता देखेर छट्पटिएका केही तत्वहरू सरकार आज ढल्छ, भोलि ढल्छ भनेर भ्रम फैलाइरहेका छन्।” उहाँले नेपाली कांग्रेसका नेता शेखर कोइरालाप्रति लक्षित गर्दै दोहोरो चरित्र देखाएको आरोप लगाउनुभयो।

“एकातिर सरकारमा हिस्सेदारी पनि खोज्ने, अर्कोतिर सडकमै सरकारको आलोचना गर्दै हिँड्ने काम अनैतिक हो,” पोखरेलले भन्नुभयो, “यस्तो प्रवृत्तिले लोकतन्त्रलाई बलियो बनाउँदैन।”

फरक प्रसङ्गमा, उहाँले सरकारले सूचनाको हकलाई संकुचित गर्ने कुनै पनि कानुन नल्याउने प्रतिबद्धता जनाउनुभयो, तर स्वतन्त्रताको नाममा हुने अराजकतालाई भने नियन्त्रण गरिने स्पष्ट पार्नुभयो।

साथै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनको विषयमा बोल्दै उहाँले राष्ट्राध्यक्ष भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कनु लोकतान्त्रिक मान्यताविपरीत हुने पार्टीको अडान कायमै रहेको बताउनुभयो।