चाइल्ड नेपालको २१औँ साधारण सभा सम्पन्न, वार्षिक कार्यक्रमको समीक्षा

काठमाडौं, ६ भदौ। बाल अधिकारको क्षेत्रमा कार्यरत संस्था चाइल्ड नेपालले आफ्नो २१औँ वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ।

संस्थाका अध्यक्ष ठाकुर प्रसाद खकुरेलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा गत आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न गरिएका कार्यक्रम तथा तिनका उपलब्धिबारे विस्तृत समीक्षा गरिएको थियो।

कार्यक्रममा संस्थाका कार्यकारी निर्देशकले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो, जसमा संस्थाले सञ्चालन गरेका परियोजनाहरू र त्यसबाट लक्षित समुदायमा परेको सकारात्मक प्रभावबारे प्रकाश पारिएको थियो। प्रतिवेदन प्रस्तुतिपछि सहभागीहरूले संस्थाको कामलाई अझ प्रभावकारी बनाउन विभिन्न रचनात्मक सुझावहरू दिएका थिए।

कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष डा. कृष्ण सुवेदी, गैरसरकारी संस्था महासंघ काठमाडौंका अध्यक्ष राम भट्टराई, हेलम्बु गाउँपालिका वडा नं. ७ का अध्यक्ष नील बहादुर खड्का लगायतका वक्ताहरूले चाइल्ड नेपालले बाल अधिकार र शिक्षाको क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए।

सो अवसरमा हेलम्बु गाउँपालिकाका शिक्षा शाखा संयोजक भीम कार्की, संस्थाकी सल्लाहकार पञ्च कुमारी मानन्धर, मानव अधिकार एलायन्स काठमाडौं शाखाकी अध्यक्ष ललिता उप्रेती रिजाल, उपाध्यक्ष शान्ता दाहाल, सचिव रत्न उप्रेती र संस्थापक सदस्य केदार विनोद पाण्डेले पनि संस्थाको भावी योजना र कार्यक्रमबारे आफ्नो मन्तव्य राख्नुभएको थियो।