सीमा तनावबीच उत्तर कोरियाको शक्ति प्रदर्शन: दुई नयाँ हवाई रक्षा मिसाइल परीक्षण

प्योङयाङ, ८ भदाै । दक्षिण कोरियासँग सीमामा तनाव चुलिइरहेका बेला उत्तर कोरियाले दुईवटा नयाँ हवाई रक्षा मिसाइलको सफल परीक्षण गरेको छ।

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले शनिबार भएको सो परीक्षणको आफैँ निरीक्षण गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले आइतबार जानकारी दिएको छ।

कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) का अनुसार परीक्षण गरिएका ‘सुधारिएका’ मिसाइल प्रणालीले ‘उत्कृष्ट युद्ध क्षमता’ प्रदर्शन गरेका छन्। यद्यपि, मिसाइलको प्राविधिक विवरणबारे विस्तृत जानकारी दिइएको छैन। केसिएनएले जारी गरेको तस्बिरमा नेता किमले सैन्य अधिकारीबाट जानकारी लिइरहेको र मिसाइलले आकाशमा लक्ष्य भेदन गरिरहेको देखाइएको छ।

यो मिसाइल परीक्षण यस्तो समयमा भएको हो, जतिबेला दुई कोरियाबीचको सीमामा तनाव बढेको छ। केही हप्ताअघि सीमा पार गरेका उत्तर कोरियाली सैनिकहरूलाई दक्षिण कोरियाली सेनाले चेतावनी स्वरूप गोली चलाएको थियो। प्योङयाङले भने उक्त घटनालाई दक्षिण कोरियाको ‘सुनियोजित उक्साहट’ भन्दै कडा आपत्ति जनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *