हिमालदेखि मिथिलाका रङ: ठमेलमा पाँच कलाकारको अनुपम कला प्रदर्शनी

काठमाडौँ, ९ भदौ। क्यानभास र कागजमा कोरिने चित्रकलाभन्दा पृथक, काठमा बालुवा चालेर बनाइएको थाङ्का कलाले यतिबेला कलाप्रेमीको ध्यान खिचेको छ। ठमेलस्थित छायाँ सेन्टरको ‘द कला सलोन’मा जारी ‘द हिमालयन नाउ’ नामक प्रदर्शनीमा कलाकार छेपाल दोर्जे शेर्पाले प्रस्तुत गर्नुभएको यो नौलो कलाले सबैलाई आश्चर्यचकित बनाउँछ।

कलाकार शेर्पाले सिसौको काठमा गम लगाएर रङ्गिन बालुवाको माध्यमबाट ‘हरित तारा मण्डला’ तयार पार्नुभएको छ। झट्ट हेर्दा क्यानभासमा बनेको जस्तो देखिने यो कला धार्मिक मान्यतामा आधारित रहेको उहाँ बताउनुहुन्छ। “केही नयाँ दिने सोचले बालुवाको यो थाङ्का तयार पारेको हुँ,” शेर्पाले भन्नुभयो।

प्रदर्शनीमा पाँच कलाकारका ३२ कलाकृति समावेश छन्। प्रदर्शनीका संयोजक तथा कलाकार उमेश श्रेष्ठका आठ वटा कलाकृति राखिएका छन्। घण्टीलाई मुख्य विषय बनाउने उहाँले धार्मिक विषयवस्तुलाई आधुनिक समाजसँग जोडेर कला सिर्जना गर्नुभएको छ। उहाँको ‘द होली किस’, ‘लिभिङ गणेश’ र दोलखाको भीमसेन जस्ता चित्रले नेपाली समसामयिक कलामा नयाँपनको आभास दिन्छन्। १३ वर्ष पुरानो एक वास्तविक प्रेम कथामा आधारित ‘प्रणय दिवस’ शीर्षकको चित्रले चोखो मायाको मार्मिक प्रस्तुति दिन्छ।

प्रदर्शनीमा मिथिला कलाको जीवन्त उपस्थिति पनि छ। वीरगञ्जकी कलाकार राखी कर्णले मिथिला कलामा नयाँ प्रयोग गर्नुभएको छ। विष्णुलोक, दश अवतार, र भागीरथ गङ्गाजस्ता धार्मिक कथालाई उहाँले आधुनिक रङ र अवधारणामा प्रस्तुत गर्नुभएको छ। “परम्परागत मिथिला कलालाई वैचारिक बनाएर विश्व बजारमा राम्रो मूल्य दिलाउने मेरो लक्ष्य हो,” उहाँले भन्नुभयो। त्यसैगरी, अर्की कलाकार शुभाद्री शुभाले पनि कृष्णलीला, मयुर र माछाजस्ता विषयमा ११ वटा सुन्दर मिथिला कलाकृति प्रस्तुत गर्नुभएको छ।

यस्तै, कलाकार कुमार थापाले ‘स्टेनलेस स्टिल’बाट बनेका दुई थान आधुनिक मूर्ति प्रदर्शनीमा राख्नुभएको छ, जसले कलाको विविधतालाई थप उचाइ दिएको छ।

प्रदर्शनी संयोजक श्रेष्ठका अनुसार, विभिन्न विधाका कलाकारलाई एउटै छानामुनि ल्याएर नेपाली कलामा ‘नेपालीपन’को खोजी गर्नु प्रदर्शनीको मुख्य उद्देश्य हो। कलाप्रेमीहरूले यो प्रदर्शनी आगामी भदौ २४ गतेसम्म अवलोकन गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *