कुलिङ पिरियडमा नैतिक जिम्मेवार ठहर्याएका रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सभापति बनाउन कांग्रेसकाे तयारी
काठमाडौं, १९ भदाै । नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडालाई बनाउने तयारी गरेको छ। भदौ १० गतेदेखि रिक्त रहेको यो पदमा खतिवडालाई पठाउने कांग्रेसको योजना रहेकाे छ ।
यसअघि संसदीय सुनुवाइ समितिको सभापति नेपाली कांग्रेसकी प्रतिनिधि सभा सांसद ईश्वरीदेवी न्यौपाने थिइन्। उनले भदौ १० गते पदबाट राजीनामा दिई सोही दिन राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा मनोनयन दर्ता गरेर निर्विरोध चयन भएकी थिइन्।
त्यसअघि राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेसका प्रतिनिधि सभा सांसद रामहरि खतिवडा नै थिए। निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा त्रुटि पाइएपछि संसदीय छानबिन समितिले खतिवडालाई नैतिक जिम्मेवार ठहर्याएको थियो। सोही कारण उनले साउन २७ गते प्रतिनिधि सभाको उक्त पदबाट राजीनामा दिएका थिए। यद्यपि, खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कुलिङ पिरियड दुई वर्ष राख्नुपर्ने अडान राख्दै आएका थिए।
कांग्रेसले खतिवडालाई संसदीय सुनुवाइ समिति सदस्यमा लगेर उक्त समितिको सभापति बनाउन लागेको हो। बिहीबार संसदीय सुनुवाइ समिति सभापति पदका लागि मनोनयन दर्ता हुँदैछ। कांग्रेसका एक पदाधिकारीका अनुसार खतिवडालाई नै समिति सभापति पदमा पठाउने तयारी पार्टीले गरिरहेको छ।
सुरुमा सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का खतिवडालाई राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमै दोहोर्याउन चाहन्थे। तर, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यसमा सहमति नजनाएपछि ईश्वरीदेवी न्यौपानेलाई राज्य व्यवस्था समिति सभापति बनाउने निर्णय भएको थियो। कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको त्रुटि राष्ट्रिय सभाबाट सच्चाइसकिएको अवस्थामा कांग्रेसले खतिवडालाई संसदीय सुनुवाइ समिति सभापतिमा पठाउन लागेको हो।
कांग्रेसका ती पदाधिकारीका अनुसार प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई संसदीय सुनुवाइ समिति सभापति पदमा पठाउन खोजे पनि उनले अस्वीकार गरेका थिए। खतिवडाले भने नेताहरूसँग आफू मन्त्री हुन पाए हुन्थ्यो भन्ने कुरा राखेका थिए। पार्टी स्रोतका अनुसार, ‘भविष्यको जिम्मेवारीको कुरा संसदीय सुनुवाइ समिति सभापति हुँदा पनि रोकिने कुरा होइन’ भन्दै खतिवडालाई संसदीय सुनुवाइ समिति सभापति पदमा उम्मेदवारी दिन पार्टीले भनेको छ।