नेपाली भूमी लिपुलेकबारे चीनमा मैले उठाएको विषय रेकर्डमा छ : प्रधानमन्त्री ओली

काठमाडौं, २० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनले लिपुलेकको भूमि प्रयोग गरी व्यापारिक सम्झौता गरिएकाे बारे स्पष्ट रुपमा चीनसँग आफुले कुरा राखेको बताउनुभएकाे छ ।

शुक्रबारबाट ललितपुरकाे गोदावरीस्थित सनराइज हलमा सुरु भएको पार्टीको विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएकाे हाे ।

उहाँले आफू जुनसुकै देशको भ्रमणमा जाँदा पनि राष्ट्रको हितलाई फाइदा हुनेगरी मात्रै दृष्टिकोण बनाउने र आफ्ना कुरा प्रष्ट राख्ने गरेको बताउनुभयाे ।

‘यसपल्ट म चीन जाँदा पनि चीनका राष्ट्रपति सी चिनफिङसँगको औपचारिक वार्तामा मैले अरु कुरासँगै लिपुलेक सन्दर्भमा भारत र चीनबीच भएको सम्झौता, हाम्रो भूमिबाट दुईवटा देशले व्यापारिक आदानप्रदान गर्ने भन्ने कुरा गर्न मिल्दैन भन्ने कुरा मैले स्पष्ट ढंगले राखेको छु,’ प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘यो कुरा रेकर्डेड छ । अडियोमा छ, भिडियोमा छ, नोट, टिपोटहरूमा छ ।’
त्यस्तै, चिनियाँ राष्ट्रपति सीले पनि भारत र नेपालबीचको विषय भएकाले कुटनीतिक रुपमा सल्ट्याउन भनेको उहाँले बताउनुभयाे ।