मकवानपुरमा आगलागी: २ करोडको क्षति, घरधनी पनि घाइते
काठमाडौं, २० भदौ । मकवानपुरको बकैया गाउँपालिका-५ गरगरेमा आगलागी हुँदै झन्डै २ करोड बराबरको क्षति भएको छ ।
स्थानीय लिलाराम जिम्बाको किराना पसलमा शुक्रबार बिहान आगलागी भएको हो । आगलागीमा परेर घरधनी ४५ वर्षीय लिलाराम जिम्बा घाइते भएका छन् । घाइते जिम्बालाई थप उपचारका लागि हेटौंडाबाट काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
घर धनीका अनुसार घर अगाडि बालेको दियोमा अचानक पेट्रोलको ड्रम पल्टिन जाँदा आगलागी भएको खुल्न आएको प्रहरीले जनाएको छ ।
आगलागीबाट दुई तल्ले पक्की घर पूर्ण रूपमा जलेर क्षति भएको छ । यसैगरी नगद १५ लाख, ३० थान ग्यास सिलिन्डर, २ वटा मोटरसाइकल, खाद्यान्न, अन्नपात, लत्ता कपडा, फर्निचर लगायत सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।