झापाबाट ७१ पाउण्ड रगत काठमाडौँमा पठाइयो
काठमाडौँ, भदौ २४ । काठमाडौँ उपत्यकामा रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ७१ पाउण्ड रगत काठमाडौँ पठाएको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालका अनुसार बुद्ध एयरको आज बिहान ७:१५ बजेको उडानमार्फत रगत पठाइएको हो ।
काठमाडौँमा सोमबार विभिन्न माग राख्दै ‘जेनजी’ पुस्ताले आयोजना गरेको आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका लागि रगत अभाव हुन नदिन झापाबाट रगत काठमाडौँ पठाइएको सभापति ढकालले जानकारी दिनुभयो ।
जेनजी पुस्ताले सोमबार झापामा समेत आन्दोलन गरेका थिए। सो क्रममा दमकमा केही युवा घाइते भएका थिए । जिल्ला प्रशासन कार्यालयले गए रातिबाट आज बिहान ५:०० बजेसम्मका लागि दमक र बिर्तामोडमा निषेधाज्ञा लगाएको थियो । निषेधाज्ञा आज बिहानबाट हटाइएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो ।