त्रिवि एमबिएस प्रश्नपत्र ‘लिक’ प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौँ, १२ साउन । त्रिभुवन विश्वविद्यालयको परीक्षा सुरु हुनु अगावै प्रश्नपत्र बाहिर ल्याएको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रौतहटको राजदेवी नगरपालिका–४ घर भएका २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमाल–१ घर भई हाल पर्साको वीरगन्ज बस्ने ३१ वर्षीय अब्दुल सानी हाकिम रहेका छन् । सिआइबीका अनुसार मिश्रलाई काठमाडौँको ताहाचलबाट र हाकिमलाई वीरगन्जबाट नियन्त्रणमा लिइएको हो ।

गत शुक्रबार सञ्चालन भएको त्रिवि व्यवस्थापन सङ्काय अन्तर्गत एमबिएस प्रथम सेमेष्टरको ‘अर्गनाइजेसनल बिहेभियर’ विषयको प्रश्नपत्र विभिन्न ह्वाट्सएप समूहहरूमा सेयर गरी परीक्षाको गोपनीयता भङ्ग गरेको उनीहरूमाथि आरोप छ । यसअघि साउन १० गते प्रहरीले कैलाली घर भई भक्तपुर बस्ने ३३ वर्षीय सन्दीप सिंहलाई सोही प्रकरणमा पक्राउ गरिसकेको छ ।

सिआइबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार पक्राउ परेकाहरूमाथि शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । एमबिएसको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्रिविको परीक्षा प्रणालीमाथि प्रश्न उठेको थियो । यस प्रकरणमा अन्य व्यक्तिको संलग्नताबारे समेत प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ ।