श्रीलङ्का समूह विजेता, अफगानिस्तानको चुनौती समाप्त
आबु धाबी, असोज ३ गते । एसिया कपमा श्रीलङ्काले बिहिबार राति अफगानिस्तानलाई छ विकेटले हराएर सुपर चारमा स्थान बनाएको छ । यस नतिजासँगै समूह बीबाट श्रीलङ्का विजेता बनेको हो । श्रीलङ्काले समूह चरणका तीनै खेल जितेको छ । अफगानिस्तानको हारसँगै बङगलादेशको भाग्योदय भयो । बङगलादेश समूह उपविजेता बनेर सुपर चारमा प्रवेश गर्यो । समूह एबाट भारत र पाकिस्तान सुपर चारमा पुगिसकेका छन् । अफगानिस्तानको भने चुनौती समाप्त भयो ।
अफगानिस्तानले आठ विकेटको क्षतिमा १६९ रन बनाएको थियो । श्रीलङ्काले १८.४ ओभरमा चार विकेटको क्षतिमा १७१ रन बनाएर लक्ष्य हासिल गर्यो । प्रारम्भिक ब्याटसम्यान कुशल मेन्डिसले ५२ बलमा अविजित ७४ रन बनाएपछि श्रीलङ्काले जित प्राप्त गर्यो ।
यसअघ अफगानिस्तानका लागि मोहम्मद नावीले ६० रनको अविस्मरणीय पालि खेलेका थिए । नावीले अन्तिम ओभरमा स्पीनर डुनिथ वेलालगेको बलिङमा लगातार पाँच छक्का प्रहार गरे । नावीले २२ बलको पालिमा तीन चौका र छ छक्का प्रहार गरे ।